कोरोनाले थलिँदै इटहरीको होलसेल व्यापार, व्यवसायीको अनुरोध धुलाबारीबाट पाठ सिक इटहरी सरकार

  • प्रकाशित मिति: असार ४, २०७७ / अर्जुन पौडेल
alt

इटहरी । सङ्खुवासभाका लाक्पा शेर्पा व्यापारी हुन् । उनको रेडिमेट र कस्मेटिकको व्यापार छ । खाँदबारी बजारमा उनले पसल थापेको २० वर्ष भयो । पसल खाँदबारीमा शेर्पा भने उनी कहिले धरान, कहिले विराटनगर र कहिले धुलाबारीमा हुन्थे । कहिले त उनी काठमाण्डौको बौद्ध र महाबौद्धतिर भौँतारिरहेका भेटिन्थे । उनको पसलमा लुगा, जुत्ता चप्पल, ब्याग, कस्मेटिकका सामान पाइन्छन् । थरी थरिका सामान बेच्ने लाक्पालाई आफ्ना पसलमा चाहिने थरी थरिका सामान हाल्ने ठाउँ पनि फरक फरक थिए ।


कस्मेटिक सामान हाल्न विराटनगर, लुगा कपडाका लागि धुलाबारी,जुत्ता चप्पलका लागि धरान र ब्याग लगायतका सामान हाल्न काठमाडौँ । उनको पसल श्रीमती र आफन्तकै भरमा चलेको थियो । चारतिर कुद्दा उनले हैरानी त खेपेका थिए नै आम्दानी पनि सोचे जस्तो भएन । उनको अनुभव छ एक त बाहिर बाहिर कुद्दा खर्च बढ्यो अर्को पसलमा बस्न नपाएर राम्रो व्यापार पनि भएन । उनी गर्नका लागि व्यापार गरिरहेका थिए । ‘नगरौँ लगानी फसी हाल्यो गरौँ नाफा छैन ।’ इटहरीमा जेठको अन्तिम साता भेटिएका लाक्पाले सुनाए । ५ वर्ष देखि भने सामान हाल्नका लागि चारतिर भौँतारिनु परेको छैन । उनले भने,–‘रेडिमेट र कस्मेटिकका होलसेल इटहरीमा खुलेपछि महिनामा दुई दिन मात्रै बाहिर हुनु पर्छ । अरू दिन पसलमै । आफू बसेपछि पसलको रौनक पनि फेरियो व्यापार र नाफा पनि बढ्यो ।’


खोटाङ हलेशीका व्यापारी श्यामध्वोज राई पनि लहान छाडेर सामान लिन इटहरी आउन थालेको ५ वर्ष हुन थाल्यो ।
पुस्तयौनी व्यापारमा संलग्न राईको किराना, रेडिमेट, कस्मेटिकदेखि हार्डवेयर सम्मको व्यवसाय छ । गाउँमै व्यवसाय थालेका उनी लहानबाट सामान उठाउँथे ५ वर्षअघि सम्म । तर अहिले उनको व्यापारिक गन्तव्य इटहरी भएको छ । उनलाई चाहिने सामान काठमान्डुकै भाउमा इटहरीमा पाइन थालेको उनले सुनाए । सामान किन्न इटहरी आएका राई इटहरीको होलसेल बजार आफूहरूका लागि सहज भएको बताए ।इटहरीमा अहिले जुत्ता चप्पल, ब्याग, कस्मेटिक, लुगा कपडा, इलेक्ट्रोनिक्स सामानको होलसेल बजार बनेको छ ।

विदेशी र स्वदेशी दुवै उत्पादनको केन्द्र

व्यापारीहरूले चाइनिज र भारतीय बजारबाट मात्रै नभएर थाइल्यान्ड सिंगापुर र इण्डोनेशियाबाट सिधै इटहरीमा सामान ल्याउने गरेको उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलले जनकारी दिए ।यस्तै स्थानीय उत्पादकको उत्पादन समेत इटहरीको होलसेल बजारमा पुग्ने गरेका छन् । रेडिमेटका लागि नेपाली गार्भेन्ट समेत प्रदेशमा २ सयको हाराहारीमा रहेकाले इटहरीको होलसेल बजार फस्टाएको उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेल बताँउछन् ।


रेडिमेट व्यवसायी सङ्घ इटहरीका अध्यक्ष सिताराम सापकोटाका अनुसार इटहरीमा ५ सय भन्दा बढी रेडिमेट व्यवसायी छन् । ती मध्ये एक सय ५० देखि २ सयले होलसेल र रि– होलसेल गरिरहेका छन् । इटहरीमा रेडिमेट होलसेल व्यवसायमा मात्रै १० अर्व भन्दा बढिको लगानी रहेको सापकोटा बताउँछन् । उनका अनुसार इटहरीका होलसेल बजारमा एक हजार देखि १५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सामानमा विविधता

रेडिमेट व्यवसायमा कपडा, जुत्ता चप्पल, ब्याग, पर्स बेल्ट जस्ता व्यवसाय पर्छन् । इटहरीमा फस्टाएको होलसेल व्यवसाय भनेको कस्मेटिक पनि हो । पूर्वी पहाडी जिल्लाहरू सङ्खुवासभा, भोजपुर,तेह्रथुम, पाँचथर धनकुटा मात्रै होइन झापा, इलाम र पाँचथर सम्म यहीबाट कस्मेटिकका सामानहरू जान्छन् । कस्मेटिक व्यवसायी सङ्घ इटहरीका अध्यक्ष उमेश गोस्वामीले इटहरीमा ५० को हाराहारीमा कस्मेटिकको होलसेल व्यापार गर्नेहरू रहेका छन् । कस्मेटिक होलसेलमा झन्डै ३ अर्वको लगानी रहेको सङ्घको अनुमान रहेको छ । यस्तै इटहरीमा इलेक्ट्रोनिक्स सामानको समेत होलसेल बजार ठुलो रहेको छ । अहिले इटहरीको होलसेल बजारले प्रदेश एकका पहाडी जिल्ला धानेको उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्ष भीम पौडेल बताउँछन् ।

अभिलेख र तथ्याङ्कको अभाव

इटहरी होलसेल सामानको केन्द्र भए पनि इटहरी उप महानगरपालिकासँग अहिले पनि इटहरीमा कति होलसेल व्यवसायी छन् भन्ने यकिन तथ्याङ्क देखिँदैन । इटहरी उप महानगरपालिकाले बनाएको डिजिटल पास्र्व चित्र (नगर प्रोफाइल)मा होलसेल व्यवसाय सम्बन्धी कुनै रेकर्ड नै छैन । संस्थागत सर्वेक्षण २०७५ का आधारमा उप महानगरपालिकाले बनाएको नगर प्रोफाइलमा ३ सय ७ वटा फेन्सी पसल इटहरीमा रहेको देखिन्छ ,भने १ सय ५६ वटा जुत्ता चप्पलको दोकान इटहरीमा रहेको देखिन्छ । सोही सर्वेक्षणले १ सय ६८ वटा इलेक्ट्रोनिक्स पसल रहेको देखाएको छ । तर कुन रिटले हुन् कुन होलसेल हुन भन्ने चाहिँ देखिँदैन ।

होलसेल बजारमा कोरोना सङ्कट

कोरोना सङ्कटका कारण झन्डै अढाई महिना इटहरीको बजार खुलेन । अडाइ महिना पछि लुकी चोरी पसल त खुल्न थाले तर व्यापार भने भएको छैन । पहाडी जिल्लाबाट ग्राहक न आएका कारण होलसेल बजार ठप्प रहेको कस्मेटिक व्यवसायी सङ्घका अध्यक्ष गोस्वामी बताउँछन् । मूल तः इटहरीको होलसेल बजार भनेकै बाहिरको व्यापारीले धानेका छन् । बाहिरबाट व्यापारी नआउँदा कारोबार शून्य भएको उनको अनुभव छ । फोनमा अर्डर आए पनि ढुवानीको समस्याले सामान पठाउन सकिएको छैन । व्यापार नहुँदा इटहरीको होलसेल व्यवसाय धराशायी भएको व्यापारीहरु बताउँछन् ।


इटहरीमा ब्यागको होलसेल व्यवसाय गर्दै आएका लक्ष्मण खतिवडालाई अहिले व्यवसाय कसरी धान्ने भन्ने चिन्ता छ । तीन महिनादेखिको घर भाडा तिर्न सकिएको छैन । बैकको व्याज समेत तिर्न नसक्दा समस्या माथि समस्या बढ्दै गइरहेको छ । उनले भने व्यापार नखुल्दा बजारमा रहेको बाँकी समेत उठ्न सकेको छैन । इटहरीको होलसेल बजार बाँकीमा चलेको छ । सामान पठाउँदै जाने, पैसा लिँदै जाने । यही चक्रमा चलेको होलसेल व्यापारको चेन टुट्दा होलसेल व्यवसायी धराशायी भएको उनले सुनाए ।
व्यवसाय नगरौँ बजारको लगानी उठ्दैन गरौँ घर भाडा, साहु र बैङ्कको व्याजले थला परिएको छ । उनले गुनासो गरे, यही अवस्था हुने हो भने इटहरीका होलसेल व्यवसायी पलायन भएर जाने छन् ।


रेडिमेट सङ्घका अध्यक्ष समेत रहेका होलसेल व्यवसायी सापकोटा बाध्य भएर आफूहरूले पसल खोलेको बताए । हामीलाई पनि कोभिडको डर छ । तर कोभिड भन्दा ठुलो त्रास बैकको व्याज, घर भाडा र साहुको छ । इटहरीमा होलसेल व्यवसाय सुरु भएको पुग नपुग १० वर्ष भएको छ । व्यापारिक केन्द्रको रूपमा इटहरीले परिचय पाएसँगै इटहरीमा घर भाडा अत्यधिक रहेको व्यपारीहरु बताउँछन् । प्रतिस्पर्धा बढ्दै जाँदा घर भाडा पनि बढ्दै गयो । लक डाउनमा होलसेल व्यापारीका लागि घर भाडा नै पलायन हुने कारण बन्दै छ । कस्मेटिक व्यवसायी सङ्घका अध्यक्ष गोश्वामीका अनुसार रिटेलमा भन्दा बढी होलसेल पसलका लागि ठाउँ चाहिन्छ ।
गोदाम पनि त्यही अनुसारको ठुलो चाहिने भएकाले लकडाउनमा समस्या घर भाडा भएको उनले बताए ।यो बाहेक बैकको व्याजका कारण पनि इटहरीका होलसेल व्यापारी समस्यामा परेको उनले बताए ।ठुलो लगानी भएका कारण होलसेल व्यवसायीलाई त्यही अनुसारको ऋणको भार रहेको उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेल बताउँछन् ।

धुलाबारीको पाठ

१० वर्ष अघिको मात्रै कुरा हो झापाको धुलाबारी बजार पूर्वको हङकङ बजारको उपनामले चिनिन्थ्यो । धुलाबारी बजारमा कपडा र सजावटका सामान किन्न नेपाली मात्र होइन भारतीय कलाकार सम्म आइपुग्थे ।एक दशकअघि सम्म झापाको धुलाबारीमा चीनबाट सोझै सामान आयात हुन्थे । नयाँ नयाँ सामान धुलाबारी आउने भएकाले फेसनेवल कपडा किन्न कलाकारहरू त्यहाँ आउने गरेको व्यापारी प्रल्हाद ओलीलाई अझै सम्झना छ । कुनै समय व्यस्त देखिने धुलाबारी अहिले भने सुनसान छ । त्यहाँका अधिकांश होलसेल व्यापारीले ठाउँ सारेका छन । कति घर भाडा लगायतका कुराले टाट पल्टिएर व्यवसायबाट पलायन भएका छन । ओली सम्झन्छन् एक दशकअघि मात्र धुलाबारी बजारमा दैनिक २५ वटा भन्दा बढी मालवाहक गाडी सामान लिएर भित्रने गर्थे । अहिले त व्यापारीले ट्रक र कन्टेनरमा सामान झारेको नदेखेको बर्षौ भयो ।


धुलाबारीका व्यापारीलाई रेडिमेट र कस्मेटिक सामान होलसेलमा किन्न आउने ग्राहक देख्न पनि समस्या हुन थालेको छ । कारण के हो त रु धुलाबारीमा व्यापार गरेर इटहरी आएका व्यापारी गोविन्द अरिबिन्द अडरियाले भने,‘धुलाबारीको बजार सुस्ताउनुमा सरकारको कमजोर व्यापार नीति नै हो ।उनका अनुसार नेपालले भन्सार असुल्ने मात्र रणनीति ल्याउँछ, भन्सारमा हुने चोरी निकासी नियन्त्रण गर्न सक्दैन ।कारोबार दैनिकमा झापाकी पत्रकार मनीषा चौलागाईले धुलाबारीको होलसेल बजार घट्नुमा सरकारले व्यापारीलाई सहुलियत ऋणको व्यवस्था नगर्दा र सामान आयात गर्दा छुट दिने व्यवस्था नगर्दा समस्या भएको लेखेकी छन । उनले स्थानीय होलसेल व्यापारीसँग गरेको कुराकानीका आधारमा तयार पारेको आलेखमा लेखेकी छन् सरकारको नीतिका कारण धपक्क बलेको धुलाबारी अहिले ओइलाएको छ ।


सो आलेखमा उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य केशव पाण्डेले झापाली अर्थतन्त्र र व्यापारको एक हिस्सा ओगटेको पुरानो बजार धुलाबारी यसरी सुस्त हुनुमा सरकारको व्यापार नीति नै कमजोर रहेको बताएका छन् । उनले पत्रकार चौलागाईसँग भनेका छन् धुलाबारीको व्यापार देखेर भारतले आफ्नो व्यापार नीति परिवर्तन गर्यो र धुलाबारीको व्यापार भारतमा सर्यो, । धुलाबारी बजारको व्यापार घट्न थालेपछि धुलाबारीका व्यापारीले आफ्नो व्यापार भारतीय बजारमा सार्न थालेका छन् । कारोबारमा आएको मन्दीसँगै उनीहरू भारतीय बजार पानीट्यांकी, सिलिगुडी, सिक्किम पुग्न थालेका छन् । पुराना ६० प्रतिशत व्यापारी भारत पलायन भएका छन् ।


इटहरी उप महानगरपालिकाले पनि इटहरीको होलसेल बजारलाई रोक्ने योजना नबनाउने हो भने यहाँका व्यापारी अन्यत्र सर्न कुनै समय नलाग्ने वाणिज्य सङ्घका अध्यक्ष भीम पौडेल बताउँछन् ।व्यापारीले जहाँ नाफा देख्छ त्यही व्यापार गर्छ । जहाँ व्यापार गर्न सहज छ त्यही जान्छ । उनले भने, यसरी कोभिडका कारण होलसेल व्यापारी पलायन भए होलसेल बजारले रौनक थपेको इटहरीको हाल धुलाबारीको झैँ हुन के बेर लाग्छ ? व्यापारले नाफा खोज्छ । नाफाका लागि व्यपारीहरु एक स्थानबाट अर्को स्थानमा जाने आउने क्रम चलिरहन्छ । एक दशक यता इटहरीको परिचय होलसेल बजारसँग जोडिएको छ ।


कोरोना सङ्कटका कारण धराशायी बनेको व्यवसाय जोगाउन रणनीति नबनाए इटहरीको परिचय त गुम्छ नै राजश्व पनि गुम्ने पौडेलको तर्क छ । घर भाडाका लागि घर धनीसँग सहजीकरण र होलसेल व्यापारीका लागि बैकको व्याजमा सहजीकरण गरे इटहरीको होलसेल बजार टिकिरहने छ । साथमा कोरोना सङ्कटका कारण थलिएको होलसेल बजारको रौनक जोगाउन कर लगायतका कुरामा पनि इटहरी उप महानगरपालिकाले हेरिदिने हो की ?

तपाईको प्रतिक्रिया दिनुहोस्

थप ४७३ जनामा कोरोना ...

काठमाडौं । आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । नेपालमा कोरोना भाइरसबाट संक्रमितको क ...

  प्रबन्ध पत्र ...

कम्पनी एन,२०६३ अन्तर्गत संस्थापित (जनमानस संचार प्रा ली)            &n ...

सुनसरीका दुई पुरुषमा ...

सुनसरी । सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको इनरुवा ३ का दुई पुरुषका दुई जना य ...

रवि ओडको गीत ‘तिमी ब ...

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सा ...

सन्तोषको नयाँ फिल्मम ...

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय ग ...

सुनसरीमा आफैंले बोके ...

सुनसरीमा प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैंमाथि गोली हानेका छन् । जिल्ला अदालत सुनसरीमा कार्यरत ...