इटहरी: १७ वर्षीय अपाङ्ग नाबालिकालाई जबरजस्ती करणी गरी एक व्यक्ति फरार भएका छन् । सुनसरीको इटहरी १६ स्थित एक टोलकी १७ वर्षीय अपाङ्ग नाबालिकालाई जबरजस्ती करणी गरी सोही ठाउँका ४५ वर्षीय कृष्ण ढकाल फरार भएका हुन् ।

बोल्न नसक्ने, एउटा मात्रै हात चल्ने अपाङ्ग बालिकालाई गत साउन ९ गते पिडक पुरुषले आफ्नै घरमा ललाई फकाइ जबरजस्ती कारणी गरेका थिए । लगत्तै पीडित बालिकाले बेलुका घरमा आएर आमालाई घटनाबारे जानकारी गराएकी थिइन् । पीडित पक्षले पिडक पुरुष र उनीकी श्रीमतीलाई घटना बारे बताएका थिए ।

तर उनीहरूले पीडित नाबालिकालाई यो पागल भई भन्दै गाली गलौच समेत गरेका थिए । लगत्तै पीडित पक्षले साउन १० गते इलाका प्रहरी कार्यालयमा पिडक ढकाल विरुद्ध किटानी जाहेरी दिएका थिए । ११ गते बिहान करिब ६ बजे ढकाललाई पक्राउ गर्न प्रहरी घरमा आउँदा ढकाल राती नै फरार भएका हुन् ।

घटना घटेको लामो समय हुँदा पनि फरार रहेका ढकाल पक्राउ नपर्दा पीडित पक्ष चिन्तित बनेका छन् ।

घटना समाजमै मिलाउन स्थानीय छर छिमेकी तथा आफन्त दिनहुँ जसो घरमा आई विभिन्न आरोप लगाउने साथै पैसामा मिल्न दबाब दिने गरेको पीडितकी आमाले बताइन् । उनले भनिन् “छर छिमेकी विभिन्न बहाना बनाउँदै घरमा आउँछन्, कहिले ३ लाख दिन्छु मिल् भन्छन्, कहिले ६ लाख दिन्छु भन्छन् मैलेँ मेरी छोरीको शरीर बेच्नु ?” उनले गुनासो पोखिन् । समाजले बारम्बार टर्चर दिने गर्दा पीडित छोरी कहिले हाँसेकोहासै गर्ने, कहिले रुने गरेको उनले बताइन् । “समाजमा भएको घटना समाजमै मिलाउनु पर्छ, तिमिहरू एक घरे भइसक्यौँ तुरुन्त प्रहरीमा दिएको जाहेरी झिक” समेत स्थानीयले भन्ने गरेको पीडितकी आमाले गुनासो पोखिन् ।

आर्थिक अवस्था कमजोर रहेको उक्त परिवारमा पीडित महिलाकी आमा समेत लामो समय देखि कम्मरको समस्याले लठ्ठीको सहाराले हिँड्ने गरेकी छिन् । उनका बुवा सोही ठाउँमा एक गाई फर्ममा काम गर्दै आएका छन् । भने १६ वर्षीय भाइ कक्षा १२ मा अध्ययनरत रहेका छन् । कोरोना भाइरसका कारण कक्षा १२ को परीक्षा रोकिएपछि पानी फ्याक्ट्रीमा काम गर्दै आएका छन् ।

लामो समय सम्म पनि फरार रहेका पुरुष पक्राउ नपर्दा कुनै दिन अप्ठ्यारोमा पार्ने हो की भन्ने त्रास रहेको पीडितका बुवा बताउँछन् । पिडक पुरुषका साला पर्ने भुवन कार्कीले फोन गरी आफ्नो भिनाजुको खोलाको छेउमा मोटरसाइकल र जुत्ता छ, मेरो भिनाजु हराउनु भयो, कुशको लास बनाएर जलाउनु पर्‍यो भन्दै बेला बेला पीडित परिवारलाई तनाव दिने गरेको समेत परिवारले जनाएको छ । कार्कीले पटक पटक यस्तो तर्साउने गरेको भन्दै पीडित पक्षले प्रहरीलाई कार्कीले भनेको सबै कुरा भदौ १७ गते इलाका प्रहरी कार्यालय पकलीलाई जानकारी गराएका थिए । प्रहरीले कार्कीलाई (आज) १८ गते पक्राउ गरी आइन्दा यस्तो नगर्न भन्दै फरार रहेका ढकाललाई ७ दिन भित्र प्रहरी सामु उपस्थित गराउन समेत भनेको छ ।

यता इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर कैलाश अधिकारीले यस घटनामा कुनै पैसा र लोभको भरमा नमिल्ने बताए । उनले भने “ पिडक विरुद्ध किटानी जाहेरी परेको छ । हाम्रो टोलीले उनलाई खोजी रहेको छ ।” जतिसक्दो चाँडो यो घटनालाई निचोडमा पुर्याउँछौं ।