इटहरी / सुनसरीको इटहरीमा  निषेधाज्ञा उल्लङ्घन गर्ने सवारीसाधनलाई प्रहरीले ६ घण्टा सम्म नियन्त्रणमा लिएर छाडेको छ । गत शुक्रवार मध्यरात देखी जिल्ला प्रशासन कार्यालय सुनसरीले लागु गरेको निषेधाज्ञालाई उल्लङ्घन गर्ने सवारीसाधनलाई प्रहरीले ६ घण्टा सम्म रोकेर राखेको हो ।

जिल्ला ट्राफिक कार्यालय सुनसरीका अनुसार निषेधाज्ञा उल्लङ्घन गने सवारीसाधनलाई हिजो दुई घण्टा होल्ड गरी छाडेको थियो ।  आज भने ६ घण्टा सम्म होल्ड गरी कागज पत्र  हेरेर मात्र सवारी छोडिएको प्रहरीले जनाएको छ ।  बिजोर गते बिजोर नम्बर प्लेटको सवारीसाधन मात्र चलाउन पाउने भए तापनि निषेधाज्ञाको पालना नगर्ने सवारी साधनलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ । 

जिल्लामा दिनप्रतिदिन कोभिड १९को सङ्क्रमितहरूको सङ्ख्या बढी रहेकोले अत्यावश्यक काम भन्दा बाहेक घर बाहिर ननिस्कन प्रशासनले भने पनि निषेधाज्ञाको वास्ता नै  नगरी गुड्ने सवारीसाधनलाई भोलिबाट थप कडा कारबाही गरिने प्रहरीले जनाएको छ । 

जोरबिजोर प्रणाली प्रभावकारी नभए पछि जिल्ला प्रशासन कार्यालय सुनसरीले मङ्गलवार मध्य रातिदेखि जिल्लाभर लागु हुने गरी जोरबिजोर प्रणाली हटाएर पूर्ण रूपमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा लागु गरेसँगै अत्यावश्यक बाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरू वैशाख २१ गते राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्म पुर्णरुपमा रोक लगाउने निर्णय गरेको छ ।

महेन्द्र राजमार्ग हुँदै सुनसरी जिल्ला भएर अन्य गन्तव्य भएका र लामो दुरीका सवारीसाधनहरू भने जिल्ला भर रोक्न नपाउने र अत्यावश्यक सेवाका सवारीहरू चल्न पाउनेछन् ।