विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुले काटेर फरार भएका छन् ।

हिजो (बुधबार) राती अपरिचित युवाहरुले प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–७ का ५२ वर्षीय वोधविक्रम मुखियाको देव्रे कान काटिदिएर फरार भएका हुन् ।

मुखिया सिमेन्ट लोड गरिएको ट्रक लिएर मोरङको बूढीगंगाबाट रंगेलीतर्फ जाँदै थिए ।विराट चोकमा पुगेपछि राती ११:२५ बजेतिर ट्रक पार्किङ गरेर नजिकैको पोखरेल होटलमा खाना खान छिरेको र खाना खाइसकेपछि होटलअगाडि बालेको आगो तापिरहेका बेला दुईजना युवा आएर  धारिलो हतियारले देव्रे कान काटेर छिनाइदिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काटिएको ठाउँमा गहिरो चोट लागेकाले अत्याधिक रक्तश्राव भएर अवस्था गम्भीर रहेका ट्रक चालकलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

कान काट्न कुन हतियार प्रयोग गरिएको थियो भन्ने बारेमा खुलेको छैन । घटनामा संलग्न युवाहरुको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।