ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अस्पतालको प्रसूति कक्षभित्रै भालु पसेको छ। अस्पताल प्रशासनका अनुसार गए राति साढे ११ बजे अस्पतालको प्रसूति कक्षमा भालु पसेको हो।

बिरामी नभएको उपचार कक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका थुनेर राखिएको र हाल सोही कोठामै भालु नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सोनिङ लामालेजानकारी दिए । उनका अनुसार अस्पतालको पछाडिको भागबाट ओहोरदोहोर गर्ने छोटो बाटोबाट राति अचानक भालु पसेको हो।

भालुलाई हाल उद्धार गर्ने तयारी भइरहेको छ। उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय भइरहेको बताइएको छ। आवश्यक प्राविधिक समूह र बेहोस बनाउने औषधि जथाभावी नपाइने भएकाले कोषसँग समन्वय गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का वार्डेन रमेश यादवले बताए।

चिसोका कारण माथिल्लो क्षेत्रबाट न्यानो खोज्दै तल्लो क्षेत्र झर्ने क्रममा सदरमुकामसम्म भालु आइपुगेको अनुमान गरिएको छ।