इटहरी । सुनसरी स्थित झुम्का कारागारमा कैदी सरुवा प्रकरणमा ठुलो आर्थिक चलखेल भएको स्रोतले दाबी गरेको छ । केही साता देखि यता झुम्का कारागारमा अस्वाभाविक ढङ्गले कारागारबाट कैदी सरुवा गरेको घटनालाई लिएर कैदी बन्दीहरूले गुनासो गर्दै आएका छन् । सामान्यतया कैदी बन्दीहरूको सरुवा गर्दा कैद भुक्तान गरिरहेको कार्यालयबाट कैदी बन्दीहरूलाई निवेदन दिन लगाएर सम्बन्धित कार्यालयको सिफारिसमा कारागार व्यवस्थापन विभागले कैदी बन्दीहरूको सरुवा गर्ने नियम छ । तर, कारागार व्यवस्थापन विभागका महानिर्देशक वासुदेव घिमिरेले बिचौलियासँग मिलेर आर्थिक प्रलोभनमा परि अप्रत्याशित रूपमा कैदी बन्दीहरूको सरुवाको पत्र पठाएपछि झुम्का कारागारमा तनाव उत्पन्न भएको थियो । 
 
स्रोतका अनुसार झुम्का कारागारमा हुने कैदी सरुवा त्या सरुवा भएर आउने कर्मचारीहरू डकैती मुद्दामा आठ वर्ष कारागार जीवन बिताएका कमल तामाङको इसारामा हुने गरेको र उनको नजिकका मान्छे त्यहाँका कर्मचारी र चौकीदार हुने गरेका छन् । झुम्का कारागारमा दैनिक रूपमा कैदीलाई आवश्यक पर्ने अत्यावश्यक खाद्यान्न देखि लिएर लत्ता कपडा र त्यहाँ उत्पादन हुने सामाग्रीहरूको व्यापारका निमित्त ठुलो आर्थिक चलखेल हुने गरेको बताइएको छ । 
 
झुम्का कारागारको बी ब्लकका चौकीदार समेत रहेका कैदी खड्गबहादुर राई र ए ब्लकका चौकीदार समेत रहेका जोन नाल्बो लिम्बू सहित तामाङको पक्षमा नलाग्ने १७ जना कैदी र ८ गते थप ५ जना कैदी महेन्द्र लिम्बु राजेश राई  पाँच थार र सुरज लिम्बु , विक्रम लिम्बु लगायत इलाम गरी एक साता भित्र २२ जना कैदी करोडौँको चलखेलमा सारिएको स्रोतले आरोप लगाएका छन् । तामाङको पक्षमा नलाग्ने झुम्का कारागार भित्र रहेका अन्य कैदीहरू पनि त्रासित भएर बस्नु परेको एक कैदीले गुनासो गरेका छन् । स्रोतका अनुसार तामाङ नाम परिवर्तन गरी प्रेम तामाङको रूपमा  काठमाडौँ बस्दै आएका छन् । यस विषयमा कारागार व्यवस्थापन विभागका महानिर्देशक वासुदेव घिमिरेले सरुवा भएका कैदी बन्दीहरूको विषयमा गुनासो आएको र गृह मन्त्रालयको निर्देशनमा उनीहरूलाई सरुवा गरिएको बताए । उनले कैदी बन्दीको सरुवामा केही आर्थिक चलखेल नभएको र सरुवा नियमित प्रक्रिया भएको बताए ।