काठमाडौं । आज १६औं लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। १९ दिनसम्म चलेको जनआन्दोलनबाट २०६३ साल बैशाख ११ गते संसद् पुनर्स्थापना भएको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाइने गरिएको छ।

नेपालमा १० वर्षसम्म सशस्त्र सङ्घर्षरत तत्कालीन नेकपा ९माओवादी०लाई शान्तिपूर्ण मार्गमा ल्याउने तथा राजतन्त्र अन्त्य गरी जनतामा केन्द्रित शासनव्यवस्था ल्याउने आधारका रूपमा रहेको उक्त आन्दोलन नेपालको राजनीति यात्रामा महत्त्वपूर्ण मानिन्छ।

तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भई गरिएको सो आन्दोलनको जगमै नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा घोषणा गरिएको थियो।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते संसद विघटित गरेर २०६३ बैसाख ११ गते पुनर्स्थापना गरेका थिए। ७ दल र सशस्त्र युद्धरत माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन भएको थियो। आन्दोलनरत दलले तयार पारेकै मस्यौदाका आधारमा राज ज्ञानेन्द्रले ०६३ बैशाख ११ गते राति संसद पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए।

२०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद बैठकले राजदरवारको अधिकार कटौती गरेको थियो। बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्तावसमेत पारित गरेको थियो। २०६३ मंसिर ११ मा माओवादी हतियार बिसाउँदै शान्तिपूर्ण राजनीतिमा आएको हो।

यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २ सय ४० वर्षदेखि रहेको राजसंस्थाको विधिवत अन्त्य गर्दै गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा गरेको थियो। भने २०७२ असोज ३ मा नेपालको संविधान जारी भयो।

यसै दिवसका अवसरमा विभिन्न राजनीतिक दल तथा संघसंस्थाले विविध कार्यक्रम गर्दैछन्।