देवेन्द्र दाहाल ५९ वर्षका भए । उनी विगत १४ वर्षदेखि जनता बहुमुखी क्याम्पसमा सेक्युरिटी गार्डको काम गर्दै आएका छन् । १४ वर्ष बितो त्यहाँ आउने जाने अनुहारहरू धेरै परिवर्तन भए तर दाहाल त्यही गेटमा उभिरहेका छन् । कुनै पुरानो अनुहार देख्ने बित्तिकै आफन्त भेटे जतिकै खुसी भएर हालखबर सोधिहाल्छन् ।
जनता क्याम्पस विद्यार्थी राजनीतिको चर्चित थलो भएकाले थुप्रै नेताहरू दाहालको आँखै अगाडी हुर्किएका थिए । विद्यार्थी राजनीति गर्दा प्राय सबै विद्यार्थी नेता उनीसँग नजिक हुन्थे हालखबर सोधिरहन्थे । आज उनी तिनैको बारेमा कोही पुराना विद्यार्थी भेट हुनासाथ सोधिहाल्छन् । फलानो के गर्दै छ ? त्यो अहिले ठुलै नेता भएछ है ? खै भेटै हुँदैन । मान्छे सारै मजाको थियो । फलानो तः विदेश गएछ, यस्तै प्रश्नहरूले उत्तरको खोजी गरिरहन्छन् । तर उनले खोजेका उनले सोधेका कहाँ छन् ? के गर्दै छन् ? कसैले नभनिदिए केही पत्तो हुन्न यिनलाई ।
उनी १४ वर्ष यताका सबै विद्यार्थी नेता चिन्छन् उनलाई पनि सबैले पाले दाइ भन्दै उतिकै मन पराउँछन् । समयसँगै को कहाँ पुगे उनी त्यही गेटमा बसेर आउने जानेहरूलाई स्वागत र बिदाइ गर्दै दिन बिताइरहेका छन् ।
क्याम्पसको सुशासनलाई लागु गराउन गेटमा दिनभरि उभिने दाहाल प्रशासनको अनुमति विना पढाइ हुने समयमा विद्यार्थीहरुलाई बाहिर डुल्न दिदैनन् । प्रशासनको अनुमति खोज्दा निकै विद्यार्थी यिनीसँग रिसाउँछन् पनि । कसैले त धम्काउन पनि पछि पर्दैनन् । सकेसम्म सबैलाई फकाउँदै सम्झाउने गरेका छन् दाहालले ।
दिनहुँ हजारौँ विद्यार्थीसँग सम्पर्कमा रहने दाहाललाई कुनै विद्यार्थीले २०७३ सालमा ढुङ्गाले हानेर टाउकोमा चोट समेत पुर्याएको थियो । त्यो घटना आज पनि ताजै घुमिरहेको छ दाहालको मस्तिष्कमा । कसैले धम्काएको घटना पनि आँखै अगाडी आइरहन्छ । तर नित्य कर्म गरिरहन्छन् दाहाल । पहिलो पटक भेट्नेले उनलाई निकै कडा स्वभावको रूपमा बुझे पनि सङ्गत गर्दै जाँदा बोलचाल हुँदै जाँदा निकै मिल्ने साथीको रूपमा पनि पाउँछन् दाहाललाई ।
सुन्दरहरैँचा वाड नम्बर ७ गछिया घर भएका दाहालको परिवारमा ७ जना छन् । उनले यही काम गरेर परिवार पाल्दै आएका थिए । उनले ५७ सालदेखि नै सेक्युरिटीको काम गर्दै आए थिए । सुरुको १० वर्ष उनले सेक्युरिटी कम्पनीको मातहतमा रहेर काम गर्दै आए । पछि जनता बहुमुखी क्याम्पसमा क्याम्पसको मातहतमा काम गर्न थाले । उनी २०७५ साल सम्म गछियाबाटै दैनिक १ घण्टा साइकल कुदाएर क्याम्पस आउने गर्थे । २०७५ साल देखि २०७९ साउन १ गते सम्म उनी क्याम्पसमा देखिएनन् घरमै बसे केही काम गरेनन् । ४ वर्षको अन्तराल पछि पुनः सोही काममा फर्किएकाले पनि होला उनका आँखाले पुराना विद्यार्थी खोजिरहेको ।
अहिले उनले यही काम गरेर आफ्नो छोरीलाई शिक्षा दिइरहेका छन् । उनकी छोरी मदन भण्डारी मेमोरियल काठमाण्डौमा बसेर अध्ययन गरिरहेकी छिन् । छोराले कृषि फारम खोलेर चलाइरहेका छन् । बुहारीले पनि कस्मेटिक पसल सञ्चालन गरिरहेकी छिन् । उनका २ जना नाति पनि छन् । छोरा बुहारीलाई सहयोग र छोरीको उच्च शिक्षाका लागि उनी आज पनि त्यही गेटमा उभिरहेका छन् । पहिला गछियाबाटै धाउने उनी यति बेला भने त्यही गेट छेउको कोठामा बस्दै आएका छन् । त्यही खाना पकाउछन् त्यही खान्छन् अनि सुत्छन् ।
उमेर ढल्किँदै गयो धेरै नामहरू बिर्सिँदै गए तर पनि भेट हुँदा चिने जतिलाई सोध्छन् र भन्छन् त्यो थियो नि हौ के अरे त्यसको नाम ? उनलाई चिन्नेले अन्दाज लगाएर फलानो फलानो भन्दै जाँदा कुनै नाममा अड्कीन्छन् र हो त्यो कहाँ छ ? के गर्दै छ ? भेट्यौ भने पाले दाइले सम्झेको छ भन्दिनु है भन्छन् भने कति नाम अरूले अन्दाज गरिदिँदा पनि मिलाउन सक्दैनन् ।
उनले खोजेको नाम ती सोधेका व्यक्तिले पनि पत्ता लगाउन सक्दैनन् । उनको मस्तिष्कमा केवल अनुहार आउँछ नाम आउँदैन । तर सबैलाई सोधिरहन्छन् खोजिरहन्छन् र प्रत्येक दिन त्यही गेटमा बसेर नयाँ अनुहारसँग परिचय गर्दै बस्छन् जुन अनुहार फेरी कुनै समय पछि एउटा यात्रामा हराउने नै छ । र उनी त्यसैगरी खोजिरहने छन् फलानो कहाँ गए छ भन्दै ।
उनलाई खोज्दै को आउलान् र ? सायद यही नै जीवन यात्राको प्रकृया होला । जीवन जिउँदै जाँदा कयौँ यात्राहरू पुरा गर्न धेरै यात्रीहरूसँग सहयात्रा गरियो होला । केही यात्री आज पनि सम्झनामा आउँदा हुन् केही पल आज पनि उति नै ताजा भएर आउँदो हो तर यो व्यस्त संसारमा कसले कसलाई कति सम्झिने कतिलाई भेट्ने । कतिको धमिलो अनुहार मस्तिष्कमा आउँदो हो पाले दाइले जस्तै कतिको अनुहार र कतिको नाम पनि भुल्यौ होला र कयौँले हामीलाई पनि भुले होला कयौँले सम्झिरहेकै होलान् । त्यो सबै समयलाई थाहा होला हामी बस यसको चक्र ब्युमा घुमिरहौला जसरी देवेन्द्र दाहाल घुमिरहेका छन् ।