एजेन्सी । गुजरातमा गाई छोडेको आरोपमा एक व्यक्तिलाई ६ महिनाको जेल सजाय सुनाइएको छ ।​ गुजरातको एक अदालतले प्रकाश जयराम देसाई नामका एक व्यक्तिलाई आफ्नो गाई सडकमा छोडेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाएको हो ।

गुजरात भारतका धेरै राज्यहरू मध्ये एक हो जहाँ गाई मार्नु अपराध हो । जसका कारण गुजरात छाडा जनावरको समस्यामा परेको छ । अदालतले यस्ता घटना धेरै बढेकाले यस्तो सजाय दिएको बताएको छ ।

टाइम्स अफ इन्डियाको समाचारका अनुसार अदालतले जनावर मालिकहरूले जनावरलाई सडकमा यत्तिकै छोड्दा मानिसको ज्यानसमेत गएको बताएको छ । र धेरै मानिसहरु घाइते भएका छन् ।

सन् २०१७ मा गुजरात सरकारले गाईको संरक्षणका लागि बनेको कानुनलाई कडा बनाउँदै गाई मार्नेलाई आजीवन कारावासको व्यवस्था गरेको थियो । यी नियमका कारण गुजरातको सडकमा गाई र गोरुको उपस्थितिका कारण सडक दुर्घटना हुने गरेको छ ।