चितवन । चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले टोक्दा २५ जना  घाइते भएका छन् ।  गाउँपालिकाको वडा नं ३ अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको र घरमा काम गरिरहेका, र बाटामा हिँडिरहेका व्यक्तिलाई  बौलाहा कुकुरले टोकेको हो ।

गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालका अनुसार दुई घण्टाको बीचमा बौलाहा कुकुरले टोकेर उनीहरू घाइते भएका थिए । घाइतेमध्ये २० जनाको कुरिन्टार स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको र  सख्त घाइते पाँच जनाको थप उपचार भरतपुर अस्पतालमा भइरहेको जनाईएको छ । 

बौलाहा कुकुरले टोकेको खबर आएसँगै पालिकाले सो कुकुर नियन्त्रणमा लिई मारेर परीक्षणका लागि पठाइएको उपाध्यक्ष सिलवालले बताए। बौलाहा कुकुरले टोकेका सबैलाई स्वास्थ्य संस्थामा सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको छ ।