विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अन्तर्राष्ट्रिय टर्मिनल भवनको सोमबार शिलान्यास गरेसँगै विराटनगर विमानस्थलको स्तरोन्नति सुरु भएको छ ।

उक्त टर्मिनल भवन भ्याटबाहेक २ अर्ब ४२ करोड ८ लाख ५६ हजार लागतमा निर्माण सुरु भएको हो । १८ सय यात्रु क्षमताको टर्मिनल भवन निर्माणका लागि केसी र डाँफे जेभी निर्माण कम्पनीले गत मंसिर ११ गते ठेक्का सम्झौता गरेको छ । 

१६ हजार २७७ दशमलव ८३ वर्गमिटरमा उक्त टर्मिनल भवन निर्माण सुरु भएको नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक हंसराज पाण्डेले बताए ।

पाण्डेका अनुसार टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, ४ वटा रेष्टुरेन्ट, पत्रकार सम्मेलन कक्ष, ३ वटा भीआईपी कक्ष, बालबालिका खेल्ने, प्राथना कक्ष, स्तनपान कक्ष, ४ वटा प्राइभेट कक्ष, हललगायतको अत्याधुनिक सुविधा रहने छन् ।

यसअघि १३ अर्बको गुरुयोजना निर्माण गरी विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिस्तरको विमानस्थलको रुपमा विस्तारका लागि तीन तहको सरकारबीच सम्झौता भएर जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको थियो ।