इटहरी । टिकादेवी बञ्जरा एका बिहानै ४ बजे उठेर इटहरीको बस पार्क जान्छीन । बिहानै उनी मकै किन्न बस पार्क पुग्दा उनका घरका सदस्य कोही पनि बिउँझेका हुँदैनन् । उनको यो दैनिकी हिजो आजको मात्र हैन । विगत २३ वर्ष देखि उनले सडकमा मकै पोलेर बेच्दै आएकी छिन । पहिला घर चलाउन बाध्यताले मकै पोलेर बेच्दै आएकी थिन तर यति बेला उनलाई खानलगाउनको कुनै दुख छैन । घरमा भएका छोरा बुहारीले पनि आमा काम नगर्नु दुख नगर्नु भन्दै आएका छन् तर टिकादेवी गर्दै आएको काम छाडेर त्यसै बस्न नसक्ने बताउँदै आएकी छिन् । हिजो बाध्यता थियो मकै पोलेर बेचे आज यो काम मेरो बुढेसकालको सहारा बनेको छ । घरमा केही नगरी बस्नु भन्दा दिनभरि मकै पोलेर बेच्दा दुईचार पैसा पनि कमाइ हुने आफूलाई पनि राम्रो लाग्ने उनको भनाइ छ । घरमा खालि त्यसै बसेर समय बरबाद गर्नु भन्दा सकुन्जेल आफूले जानेको काम गर्ने बताएकी छिन । दिन भरि व्यापार मात्र हुँदैन धेरै जनासँग चिनजान हुने कुराकानी हुने र समय बितेको पनि पत्तै नहुने भएकाले आफूले गर्दै आएको काममा मन लागिराखेको उनको भनाइ रहेको छ ।

हाल मकै बेच्ने ठाउँमै व्यापारीले मकै ल्याइदिए पनि केही समय अगाडी बिहानै बसपार्कमा मकै व्यापारीबाट प्रति गोटा रु १५ मा काँचो मकै  किन्दै आएकी थिन । रु १५ मा किनेको मकै पोलेर रु ३० मा विक्री हुन्छ । उनले मकै पोल्न कोइला पनि खरिद गर्नु पर्ने हुन्छ । एक टिन कोइलाको एक सय पचास सम्म मूल्य पर्ने गरेको छ ।  दिनभरी तातो घाममा मकै पोलेर बेच्दा प्रति मकै ११ देखि १२ रुपैयाँ नाफा बच्ने गर्छ । दिनभरिमा जाडो मौसममा १५० देखि २०० वटा सम्म मकै विक्री हुने भए पनि हाल गर्मी याममा दिन भरिमा ४० देखि ५० वटा मात्र विक्री हुन्छ ।  दिनभरि मकै बेचेर यति बेला ६ देखि ७ सय रूपैया कमाइ हुने गरेको छ । जाडो याममा भने रु १५ सय देखि २ हजार सम्म आम्दानी हुने गरेको उनी बताउँछिन् । यसरी मकै पोलेर राम्रै आम्दानी भइराखेकोले आफ्नो कामलाई निरन्तरता दिएको उनी बताउँछिन् ।

आफूलाई दुईचार पैसा आवश्यक पर्दा कसैसँग माग्नु नपर्ने र आफै निर्भर हुने भएकाले सकेको काम सबैले गर्नु पर्ने उनी बताउँछिन् । टिका देवी इटहरीको टेङ्ग्रा खोला छेउमा बसेर मकै पोलेर बेच्दै आएकी छिन । उनी ६८ वर्षकी भइन । उनको तीन जना छोरा रहेका छन्  । उनी माइला छोरासँग बस्दै आएकी छिन ।

गोरखा जिल्लामा जन्मेकी टिका देवीको सानै उमेरमा राम प्रसाद बञ्जरासँग गोरखा जिल्लामै विवाह भएको थियो । तीन सन्तानको आमा भए पछि माओवादीले सुरु गरेको सशस्त्र युद्धको असरले २०५२ सालमा गोरखा जिल्ला छाडेर झापा आइन । उनका श्रीमानले झापाको ग्यारेजमा काम गरेर घर चलाइरहेका थिए । पछि लगभग ५७ सालमा इटहरी आएर टिका देवीले मकै पोलेर बेच्न सुरु गरिन । उनका श्रीमानले पनि ग्यारेजमा मोटरसाइकल मर्मत गर्ने काम गरेर घर चलाउँदै आएका थिए । २०५७ सालमा श्रीमानलाई काममा सहयोग गर्ने र घर व्यवहार चलाउने उद्देश्यले सुरु गरेको काम अहिले सम्म निरन्तर चलिरहेको छ । हाल उनको श्रीमान् घरमै बस्छन् उनलाई पनि छोरा बुहारीले काम नगर्नु भने पनि उनी आफ्नो कामलाई निरन्तरता दिइरहेकी छिन ।