विराटनगर । विराटनगर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०–८१  बाट सामुदायिक विद्यालयमा डिजिटल साक्षरता र प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्ने भएको छ । महानगरले अमेरिकास्थित ईक्वालिटी फाउन्डेसनसँगको समन्वयमा यस्तो पाठ्यक्रम तयार गर्न लागेको हो ।

महानगरको शिक्षा महाशाखाले दिएको जानकारी अनुसार महानगरसँग सम्पर्कमा रहेका डायस्पोरा नेपालीहरूलाई आ–आफ्नो विद्यालयमा जोड्ने र उनीहरूको प्राविधिक सहयोग लिएर यो कार्यक्रम सञ्चालन गरिने छ ।

यसअन्तर्गत २५ माध्यमिक विद्यालयमा डिजिटल साक्षरताका साथै प्रविधिमा आधारित शिक्षा दिइने महानगरले जनाएको छ ।

यसअन्तर्गत सुरुको तीन महिनासम्म विद्यालयमा शिक्षक तथा विद्यार्थीलाई शिक्षण गराइन्छ । त्यसपछि परीक्षा लिएर कति विद्यार्थी तथा शिक्षकलाई यो कार्यक्रममा सहभागी गराउने भन्ने तय हुन्छ । त्योसँगै संस्थासँग आबद्ध आईटी इन्जिनियरहरू तथा विज्ञको सहयोगमा पाठ्यक्रम तयार पारिने छ ।