काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७९ को एसईई परीक्षाको नतिजा असार १८ गतेभित्र निकाल्ने तयारी गरेको छ । नतिजाका लागि अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ ।
कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारका अनुसार विद्यार्थीको प्राप्तांक इन्ट्रीको काम सकिएको छ भने अहिले अन्तिम चरणमा अंक पुनजाँचको काम भइरहेको छ ।
यसपटकको एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागु हुने वा नहुनेबारे निर्णय हुन बाँकी रहेको गोदारले बताए ।
सरकारले गत वर्षको एसईई नतिजामा नै लागु गर्ने गरी ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ तयार पारेको थियो । निर्देशिकाअनुसार सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउने विद्यार्थीको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ ।
तर, गतवर्ष कोरोना महामारीको असरका कारण पठनपाठन सहज नभएको र विद्यार्थीमा मार पर्ने भन्दै बोर्डले पुरानै ग्रेडिङ प्रणालीअनुसार नतिजा निकालेको थियो । यो वर्ष भने के गर्ने भन्नेबारे बोर्डमा छलफल चलिरहेको बताइएको छ ।
२०७९ चैत १७ गतेदेखि भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।