इटहरी । व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरेको भन्दै इटहरीका तीन विद्यालयहरुलाई जनही पाँच लाख रुपैया प्रोत्साहन पुरस्कार दिइने भएको छ । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले नतिजामा आधारित प्रोत्साहन अनुदानवापत पाँच लाख रुपैया दिने भएको हो ।

यसरी प्रोत्साहन पुरस्कार पाउने विद्यालयहरुमा जनता मावि, राष्ट्रिय मावि र सरस्वती मावि रहेका छन् । विभिन्न शीर्षकमा विद्यालयले पाएको अंकहरुको तुलना गरी सबैभन्दा बढी अंक पाउने तीन विद्यालयले अनुदान पाएका हुन् ।

 अब विद्यालयले उक्त अनुदान खर्च गर्नको लागि विस्तृत योजना बनाइ उपमहानगरपालिकाको स्वीकृती लिनुपर्ने इटहरी उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।