विराटनगर । क्याम्पसप्रमुख विरुद्ध आवाज उठाउने तीन जना विद्यार्थीलाई विराटनगरस्थित कोसी हेल्थ एन्ड साइन्स क्याम्पसले प्रयोगात्मक परिक्षामा फेल गराइदिएको छ । क्याम्पसको बीपीएच चौथो वर्षमा अध्ययनरत तीन जना विद्यार्थीलाई कलेज प्रशासनले फेल गराएको हो। 

विद्यार्थीहरु रूपा न्यौपाने, मनीषा यादव र अन्नयिया भगत फेल भएका हुन् । 

पूर्वाञ्चल विश्वविद्यालयले बीपीएच सातौं सेमेस्टरको परीक्षाअन्तर्गत सैद्धान्तिकतर्फ पास भएका उनीहरुले प्रयोगात्मकमा न्युन अंक पाएपछि पत्रकार सम्मेलन गरेर असन्तुष्टी जनाएका छन् । केही समयअघि क्याम्पस प्रमुखले अपशब्द बोलेको विषयमा आफूहरुले प्रतिरोध गरेपछि रिसइबी साँधेको उनीहरुको आरोप छ ।

प्रायःजसो प्रयोगात्मक परिक्षा कलेजले लिने हुँदा विद्यार्थीलाई सकेसम्म बढी अंक दिने गरिन्छ । प्रयोगात्मक परिक्षामा सहभागि विद्यार्थी फेल हुँदैनन् । तर कक्षा कोठामा अपशब्द प्रयोग गर्ने क्याम्पस प्रमुखविरुद्ध आवाज उठाएकै कारण तीन विद्यार्थीलाई फेल गराइएको हो । 

यता कलेजका प्रिन्सिपल सूर्यनारायण चौधरीले विश्वविद्यालयबाट बाह्य परीक्षकको रूपमा आएका परीक्षकहरूले परिक्षा लिने र अंक दिने हुँदा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । 

रूपाले उच्च अदालत विराटनगरमा महानगरपालिका—१ मा रहेको कोसी हेल्थ एन्ड साइन्स क्याम्पस, क्याम्पसका प्रमुखसँगै पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा शाखाको व्यवस्थापन कार्यालय विराटनगर, प्रयोगात्मक परीक्षाका लागि बाह्य परीक्षकका रूपमा आएका स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेत, अर्का परीक्षक सन्तोष साहविरुद्ध उत्प्रेषणयुक्त मुद्दासमेत दर्ता गराएकी छिन् ।