कहाँ सजिलो छ र

क्रान्तिको बाटो

विचारहरू मस्तिष्कमा

ओल्टे कोल्टे गरेको बेला

आफ्नैले धावा बोलेको बेला

विद्रोहको लामो स्वास फेरेर

आँखा चिम्लेर सोची हेर्दा

सिद्धान्त भुलिसकेकाहरूको पछि लागेर

क्षमताहरूले बाटो देख्नै नपाए पछि

म कहाँ छु ?

किन कसको पछि के प्राप्तिका निमित्त

किन दौडिरहे छु ?

यही प्रश्नहरूले लामो समय आँखा चिम्लिन नसके पछि

क्रोधले राता राता भएका आँखाहरूमा

स्वार्थका चिसा पानीले

आँखा भिजाएर

बिचारहीनहरूको पछि लागेर

एउटा क्रान्ति मुटुमा बोकेर

हिँडिरहेको युवाहरूको पङ्क्तिमा

आफूलाई ज्युँदो लास जस्तै देखेर

आफू जस्तै अरूको माया लागेर आउँछ

क्रान्तिको नयाँ रूप धारण गरेर

यो असमानताको खाडल पुर्नै पर्ने भा'छ

फेरि एउटा लडाइ लड्नै पर्ने भा'छ

युवाले युवा हुनुको अधिकार प्राप्त गर्न

आफू ज्युँदै रहेको प्रमाण दिन

रगत उम्लिएर विवश रमिता हेरेर बस्नु भन्दा

आउँ अधिकार प्राप्तिका निमित्त

आफैले मानेका नेताका विरुद्ध

भिड्न तयार होऔँ । 


खाली मस्तिष्कहरूलाई परास्त गरेर

नयाँ नयाँ आविष्कारले

अग्रगामी विचारले

देशलाई समृद्ध बनाउन

विचार  रित्तिएका

सपनामा झैँ बिपनामा बरबराइरहने

आफूले नेता मान्दै आएका

खाली मस्तिष्कहरूसँग

एउटा युद्ध लड्न तयार होऔँ

आउँ क्रान्तिकारीहरू एक जुट होऔँ