इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले सेवा प्रवाहमा सुधार ल्याउन इटहरीका कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

उपमहानगरले आफ्नो क्षेत्र भित्रका सरकारी कार्यालयका प्रमुखहरूलाई कार्यालयमा बोलाएर कार्यालयहरूबाट प्रदान गरिने सेवामा सुधार ल्याउँदै जनतालाई सहज रूपमा सेवा दिन निर्देशन दिएका हुन्।

इटहरी उपमहानगरका सेवामा समस्या छन् भने हामी सुधार गर्छौँ’, प्रमुख पौडेलले भने, ‘अरू कार्यालयहरूका समस्या प्राथमिकता अनुसार सुधार गर्दै जान म यहीँबाट अनुरोध गर्छु, इटहरी भित्रका कुनै पनि कार्यालयले समयमा सेवा दिएनन्, जनतालाई दुख दिए र सेवा दिने क्रममा समस्या आए भन्ने कुरा सुन्नु नपरोस् । 

कार्यक्रममा उपप्रमुख संगिता चौधरीले इटहरीलाई समृद्ध बनाउनका लागि सबै पक्षको साथ र सहयोग जरुरी रहेको बताइन्। उनले  इटहरी भित्रका सरकारी कार्यालयहरूको सेवा प्रवाहमा सुधार ल्याउनका लागि सुझाव दिइन्। 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहेताले नगरका सेवासुविधालाई प्रभावकारी रूपमा प्रवाह गर्न तत्पर रहेको भन्दै कुनै गुनासो रहेमा सिधै सुझाव दिन आह्वान गरेका छन् ।

इटहरी भित्र कार्यालय रहेका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इलाका प्रहरी कार्यालय, राजश्व कार्यालय, सडक, खानेपानी, विद्युत्, यातायात, हुलाक, टेलिकम, लगायतका कार्यालयका प्रमुखहरूले आफूहरू जनताको गुनासो नआउने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए ।