शिक्षिका बन्ने सपना बोकेर अर्घाखाँचीको लाउकेबाट राजधानी छिरेकी हुमकला पाण्डे सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुन । भक्तपुर र काभ्रेपलान्चोक जिल्लामा आफूलाई अब्बल साबित गरेर सुनसरी आएसँगै उनको ध्यान सुरुमा आफ्नै कार्यालय परिसर तिर केन्द्रित भयो । प्रशासन कार्यालय अगाडी नै नागरिकता, पासपोर्ट जस्ता नागरिकले पाउने सेवामा बिचौलियाको बिगबिगी रहेको थियो । सेवाग्राही सेवा लिन जाँदा बिचौलियाले निवेदन लेखिदिने, हुलाक टिकेट बेच्ने जस्ता विभिन्न बहानामा सेवाग्राहीबाट पैसा असुल्न खुल्लमखुल्ला हानथाप गरेको दृश्यले पाण्डेको ध्यानाकर्षण भयो । मानिसले जीवनमा राज्यबाट प्राप्त गर्नु पर्ने सुविधाहरू मध्ये महत्त्वपूर्ण सेवा लिने परिसरको दुर्गति अन्त्य गर्न पाण्डेले सम्पूर्ण सेवा कार्यालयबाट प्राप्त हुने गरी बिचौलिया मुक्त कार्यालय बनाउन सफल भइन । नागरिक तहमा चेतनाको अभावका कारण नागरिक ठगिनु पर्ने अवस्थाको अन्त्य चाहने हुमकलाको कार्य देखि आम सेवाग्राही नतमस्तक छन् ।

उनले वर्षौँ देखि रहेको मिटर व्याजीको समस्यालाई प्राथमिकता दिएर कयौँ समस्या हल गरिन । यस्तै सुशासनको सवालमा वर्षौँ देखि नागरिकता नपाएका नागरिकले नागरिकता पाउने देखि अखाद्य सामाग्री विक्री गर्नेलाई अनुगमन गरी कारबाही गर्ने सम्म भूमिका कुशल पूर्वक निर्वाह गरिरहेकी छिन । उनले सुनसरीका सरकारी निकायहरूबाट प्राप्त हुने सबै खाले सेवा नागरिकको सिधा पहुँचमा ल्याउने गरी कार्यको सुरुवात गरिरहेकी छिन्  ।

यसरी सुशासनलाई कडाइ पूर्वक लागु गराउन खटिरहेकी राज्यको सहसचिव हुमकला स्वयमको लक्ष्य भने कुनै समयमा निजामती सेवामा अगाडी बढ्ने थिएन । अर्घाखाँची स्थित सरस्वती माविबाट २०५१ सालमा एसएलसी उर्तिण गरे पछि पाण्डेमा शिक्षिका बन्ने रहर पलाएको थियो । छोरी मान्छेले पढ्नु हुँदैन धेरै पढ्यो भन्ने बिग्रीन्छन् भन्ने सामाजिक कु-प्रथासँग लडेर हुमकलाकी आमा स्व.सावित्री पाण्डेले आफ्नो छोरी बिग्रे पनि पढाउने निधो गरिन । उनले हुमकलालाइ पढाइमा अगाडी बढ्न सामाजिक कुप्रथाका विरुद्ध सतिसालझैँ उभिइरहिन । आमाको प्रेरणालाई नै आदर्श बनाएर हुमकला निरन्तर अगाडी बढी रहिन । 

घरमा पारिवारिक माहौल सहज भए पनि जब जब जीवनमा अप्ठ्यारा पल आउँथ्यो हुमकलालाइ आमाको साथले थप मजबुत बनाउने गर्थ्यो । सावित्रीलाई पनि सहज परिस्थिति भने थिएन । उमेर हुर्कँदै गरेको छोरीलाई बेलैमा विवाह गरेर पठाइदिनु पर्छ भन्ने समाजको दबाब झेल्दै छोरीलाई अगाडी बढाउन । त्यति बेलाको परिस्थिति नियाल्ने हो भने छोरीलाई पढाउनु र चाँडो विवाह नगरी निरन्तर अगाडि बढाउन सावित्रीले खेलेको भूमिका सामाजिक विद्रोह सहितको क्रान्तिकारी कदम थियो भन्दा गलत साबित नहोला । 

किसानको परिवारमा बुवा उमाकान्त पाण्डे र आमा सावित्री पाण्डेकी आठौँ सन्तान मध्ये पाँचौँ सन्तानको रूपमा २०३५ सालमा जन्म लिएकी हुमकलाको बाल्यकाल सामान्य थियो ।  खेतीपातीको काम गरेर घरमा घासदाउरा गर्दै , गाई बस्तु चराउँदै, गोठमा गाई वस्तुको गोबर सोरेर भान्सामा आमालाई सघाएर बचेको समयमा पढ्ने गर्थिन । जुन त्यति बेलाको परिस्थिति अनुसार सामान्य दिनचर्या नै थियो । यसरी बचेको समयमा पढेर पनि उनको पढाइ प्रतिको लगाव भने लोभलाग्दो थियो । पुरुषको तुलनामा महिलाले घरायसी कामको दबाबले राम्रो नतिजा हासिल गर्न सक्दैन थिए तर हुमकलाले भने एसएलसीमा पनि प्रथम डिभिजन हासिल गरिन जुन कुरा सरस्वती माविमा महिलाले पनि राम्रो नतिजा हासिल गर्छन् भन्ने नयाँ रेकर्ड बन्न पुगेको थियो । रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीबाट कक्षा १२ पनि क्याम्पस टप भएर उर्तिण गरेकी थिन । उनलाई स्कुलमा शिक्षकले पढाएको खुब मन पर्थ्यो । त्यही भएर  पाण्डेको मनमा सानै देखि शिक्षिका बन्ने रहर पलाएको थियो । उनी शिक्षिका बन्ने आफ्नो सपना पुरा गर्न १२ को परीक्षा दिएर दाजुसँग  काठमाडौँ  बस्न थालिन र बोर्डिङ स्कुल पढाउन सुरु गरिन । 

उनले आफ्नो उच्च शिक्षा अगाडी बढाउनुको साथै आफ्नो सपना पनि पुरा गर्दै गइन । उनले स्कुल पढाउँदै आफ्नो पढाइलाई पनि निरन्तरता दिँदै गइन । उनले महेन्द्र रत्न क्याम्पसबाट विएडमा नेपाली विषय लिएर स्नातक उर्तिण गरिन । उनको जीवन नै पढ्ने र पढाउनेमा बितिरहेको थियो । उनले त्रिचन्द्र क्याम्पसबाट २०६० सालमा स्नातकोत्तरमा गोल्ड मेडल हासिल गरिन । गोल्ड मेडल प्राप्त गरेका कारण त्रिचन्द्र क्याम्पसले उनलाई पढाउने अवसर दियो । शिक्षिका बन्ने जीवनको लक्ष्य बोकेर हिँडेकी हुमकलालाइ आफैले अध्ययन गरेको त्रिचन्द्र क्याम्पसमा अध्यापन गराउन पाउनु सामान्य कुरा थिएन । उनको जीवनकै अत्यन्तै सुखद क्षण थियो । उनले त्रिचन्द्र क्याम्पसमा २०६३ साल सम्म जम्मा तिन वर्ष अध्यापन गराइन । उनले  काठमाडौँको आधा दर्जन भन्दा बढी स्कुल र क्याम्पसमा अध्यापनको काम गरिसकेकी थिइन । 

यसरी आफ्नो लक्ष्यबमोजिम सफलता हासिल गरिरहेकी हुमकलाले आफू निजामती सेवामा काम गर्छु होला भन्ने परिकल्पना समेत गरेकी थिइनन् । उनीसँग एउटै लक्ष्य थियो शिक्षिका बन्ने । त्रिचन्द्र क्याम्पसमा स्नातकोत्तर पढ्दै गर्दा उनको यमलाल भुसालसँग २०५८ सालमा विवाह भयो । भुसाल उनका श्रीमानका रूपमा मात्र नभएर उनको जीवनको लक्ष्य नै परिवर्तन गराउने साथीका रूपमा पाण्डेको जीवनमा आए । भुसालसँगको विवाह पछि बिस्तारै उनको जीवनमा निजामती सेवाको प्रभाव सुरु हुन थाल्यो । कारण थियो उनका श्रीमान् । भुसाल त्यति बेला शाखा अधिकृतको रूपमा कार्यरत थिए । भुसालको पारिवारिक माहौल निजामती सेवामा आकर्षित थियो । उच्च शिक्षा हासिल गरेकी बुहारीलाई घर भित्राए पछि बुहारी क्याम्पस पढाउन जाने विषयले यमलालका बुवालाई चित्त बुझेको  थिएन । पटक पटक बुहारीलाई त्यत्रो क्याम्पस पढाएर पनि तिम्रो हैसियत एउटा खर्दार सरह पनि भएन है भन्दै निजामतीको तयारी गर्न प्रेरणा दिन्थे  । ससुरा बुवा-आमाको प्रेरणाले उनको ध्यान पनि निजामती सेवा तर्फ आकर्षित हुन थाल्यो ।

उनलाई श्रीमानले पनि साथ दिए र पारिवारिक साथको प्रभावले गर्दा  शाखा अधिकृतको तयारी गरिन । मेहनत गरे सबै कुरा सम्भव हुन्छ भन्ने उदाहरणीय पात्र बन्न पाण्डे सफल भइन । उनले २०६३ सालमा शाखा अधिकृतमा नाम निकालिन र आफ्ना अध्यापन पेसाबाट निजामती तर्फ आफ्नो यात्रा तय गरिन। यसरी २०६३ सालबाट अध्यापन पेसाबाट निजामती सेवामा फड्को मारेकी हुमकला पाण्डे शाखा अधिकृतबाट २०६८ सालमा उपसचिवमा नाम निकाल्न सफल भइन । त्यस्तै २०७५ सालमा सहसचिवमा नाम निकाल्न सफल भइन । श्रीमानको साथ सहयोग र परिवारको प्रेरणाले आज उनी सुशासन कायम राख्ने एक राज्यको इमानदार सेवकको रूपमा परिचित छिन । उनी मात्र हैन उनका श्रीमान पनि सहसचिवकै तहमा छन् । पाण्डेले प्रधानमन्त्री कार्यालय, महिला बालबालिका मन्त्रालय , अक्तियार दुरुपयोग अनुसन्धान आयोगको बागमती प्रदेश प्रमुखको रूपमा,  भक्तपुर र काभ्रेपलान्चोक जिल्लामा प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न रूपमा विभिन्न निकायमा विगत १७ वर्ष देखि कार्यभार निर्वाह गर्दै आएकी छिन । हाल उनी सुनसरी जिल्ला प्रमुख अधिकारीको जिम्मेवारीमा छिन ।

उनले कामलाई मात्र निरन्तरता दिइनन् आफ्नो शैक्षिक क्षेत्रलाई पनि थप फराकिलो बनाउँदै लगिन । उनले कोरियाबाट कृषिमा पनि स्नातकोत्तर गरिन त्यस्तै कानुन संकायमा पनि स्नातक गरेकी छिन । हुमकलाले एमएड, एमपिए र एमफील सकेर अब पिएचडी गर्ने लक्ष्य लिएकी छिन्  ।

केही महिलाहरू विवाह पछि पारिवारिक माहौलका कारणले अध्ययन समेत त्याग्नु पर्ने बाध्यतामा पुगेको पाइन्छ भने केही महिलाले आफूले गर्दै गरेको पेसा पनि त्यागेर घर गृहस्थी समालेर बसेको पाइने हाम्रो समाजमा हुमकला पाण्डे र उनलाई साथ दिने उनका ससुराबुवा-आमा पनि आज हुमकलाको सफलताको उदाहरण बन्न सफल भएका छन् । हुमकलाको दुई सन्तान रहेका छन् । ससुराबुवा-आमाले सन्तानको हेरचाह गरिरहनु भएको छ जसले गर्दा हुमकलालाइ आफू  निरन्तर अगाडी बढ्न सहज भएको हो । 

नेपालको ७७ जिल्लामा हाल ८ जना मात्र महिला प्रमुख जिल्ला अधिकारी रहेका छन् । महिला पनि अब्बल हुन्छन् । पुरुष सरह पुरुषसँग प्रतिस्पर्धामा काम गरेर आफूलाई प्रमाणित गर्न सक्छन् भन्ने एउटा उदाहरण बन्न पाण्डे सफल भएकी छिन ।