काठमाडौँ । काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक  दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा  दुर्घटना भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका सङ्खुवासभा मकालु गाउँपालिका–१ का शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धरामा आज बिहान मृत्यु भएको  प्रहरीले जनाएको छ । 

मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीय डोल्मा शेर्पा घाइते भएकी छन् । उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।  

भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भ्यानका चालक बारा घर भई काठमाडौँको माछापोखरी बस्ने २५ वर्षीय जीतेन्द्र माझीको साथमा काजपत्र नभएको र मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको प्रहरीले जनाएको छ ।