विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–६ मा बुधबार बिहान बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसको ठक्करबाट पैदल हिँडिरहेका अन्दाजी ६५–७० वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । बसले आज बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका पुरुषलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । 

अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।  शव सोही अस्पतालमा राखिको छ । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस र चालक उर्लाबारी–२ का ५३ वर्षीय लोकबहादुर बोहोरालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।