काठमाडौं । शिक्षकहरूको दोस्रो दिनको आन्दोलन सुरू भएको छ । 

माइतीघर–वानेश्वर सडक ढाकेर उनीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् । काठमाडौं महानगरका सामुदायिक विद्यालयका शिक्षक पनि विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका छन् ।

काठमाडौं महानगरले आन्दोलन जाने शिक्षक र विद्यालय बन्द भए प्रअलाई कारबाही गर्ने चेतावनीका बाबजुद उनीहरूले हिजै आन्दोलनमा सहभागी हुने निर्णय गरेका थिए ।

शिक्षकहरूको विरोध प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको छ । आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक नेतृत्वसँगको वार्ता निष्कर्षविहीन टुंगियो । शिक्षक महासंघले विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् ।

संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । विभिन्न जिल्लाबाट शिक्षक–शिक्षिका आन्दोलनका लागि काठमाडौं आएका छन् ।

सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू भएको हो । महासंघले देशभरका सबै सामुदायिक विद्यालयहरु बन्द गराएको छ ।