काठमाडौं । धनुषाको धनौजी गाउँपालिका–५ स्थित वासुदेव उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।शिक्षक अभावले पढाइमा समस्या भएको भन्दै विद्यार्थीहरूले आइतबारदेखि विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

 प्रधानाध्यापक रहमतुल्ला मंसुरी राइनलाई शिक्षक अभावका कारण पठनपाठनमा समस्या भएको पटक–पटक जानकारी गराउँदा पनि कुनै चासो नदेखाएपछि तालाबन्दी गर्नुपरेको विद्यार्थीहरूको भनाइ छ । 

शिक्षक अभावबारे वडा अध्यक्ष वाकुम कवाडीलाई पनि पटकपटक जानकारी गराउँदा पनि ध्यान नपुर्याएको भन्दै विद्यार्थीहरूले धनौजी गाउँपालिका–५ बहुअर्वाको कार्यालयमा समेत तालाबन्दी गरेका छन् । हुन त सो तालाबन्दी एक घण्टा पछाडि नै तोडिएको बताइएको छ । विद्यालयको ३६ विघा रहेको जग्गा संरक्षण गर्ने नाममा विद्यालय व्यवस्थापन समिति गठनमा विवाद हुँदा गत आर्थिक वर्षको माघ महिनादेखि विद्यालय व्यवस्थापन समितिविहीन रहेको छ ।