काठमाण्डौ । ढुङ्गामुनि लुकाइरहेको अवस्थामा चार किलो सुन बरामद भएको छ । आइतबार दोलखाको बिगु गाउँपालिका–१ लामाबगरबाट उक्त सुन बरामद गरेको हो । 

यसअघि गएको बुधवार राति तीन किलो र शुक्रवार चार किलो सुन बरामद भएको थियो । योसँगै दोलखाबाट पछिल्लो पाँच दिनमा ११ किलो सुन बरामद भएको छ । 

गएको बुधवार र शुक्रवार बरामद भएको तस्करीको सुनको अनुसन्धान गर्दै जाँदा आज थप चार किलो सुन भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चीनसँगको फलेक नाका बन्द भए पनि यो सुन फलेक नाकाबाटै तस्करी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।