विराटनगर । कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न मिलेर जानुपर्ने दलका नेताहरुले बताएका छन् ।बुधबार सुरु प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै दलका नेताहरुले यस्तो बताएका हुन् । 

संविधानको धारा १६८ को ३ अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियूक्त भएका हिक्मतकुमार कार्कीले २० असोजमा विश्वासको मत लिने तयारी गरेका छन् ।तर, उनले तत्कालै विश्वासको मत पाउने अवस्था छैन । विश्वासको मत नपाए सोही धाराको उपधारा ५ अनुसार सरकार गठन हुनेछ । यसरी गठन भएको सरकारले विश्वासको मत नपाए मध्यावधि निर्वाचन हुनेछ । तर दलहरु अहिले नै मध्यवधीमा जान भने तयार छैनन् ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले अहिले मध्यावधि जान सक्ने अवस्था नरहेको बताएका छन् । धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन गर्दा दलहरूले मिलेर जानुपर्ने उनले बताए ।

त्यस्तै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दलहरु मिलेर मात्रै अहिलेको अवस्थाबाट निकास निस्कने बताए । प्राप्त जनादेशलाई प्रयोग गर्दै आउँदा यहासम्म आइपुगेको बताउदै उनले यो प्रदेशसभा संकटमा जान नहुने बताए ।

नेकपा एकिकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्रकुमार राईले संसदको भूमिकाका विषयमा सरकारको कामको सन्धर्वमा मिल्न सक्ने जति मिलेर जानुपर्नेमा जोड दिए । उनले सरकार गठनकै विषयमा जात्रा गरिरहेका समेत बताए ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशको संकट टार्नका लागि मिलेर अघि बढ्नुपर्ने बताए । कोशी प्रदेशमा दलहरुले नयाँ ढंगको सहमतिका निम्ती आधार तयार गर्नुपर्ने बाध्यतालाई सबैले बुझ्नुपर्ने उनको भनाइ छ । 

प्रदेश सरकारको फेरबदलले प्रदेशको औचित्यमाथि नै प्रश्न उठ्न थालेको राप्रपा प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले बताए । उनले अहिलेको समस्याबाट निकासका लागि मिलेर जानुको विकल्प नभएको बताए ।