हेटौँडा । धरान चतरा सडक खण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ सानो गंगटेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एकजना साइकलयात्रीको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको छ ।

आइतबार साँझ हेटौँडा बजारबाट हात्तीसुँडेतर्फ जाँदै गरेको ना ६ प ७१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री हेटौंडा–१७ बस्ने अन्दाजी ५० वर्षीय धर्मराज पौडेल गम्भीर घाइते भएका थिए ।

 उनको हेटौंडा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवनको भरतपुर अस्पतालमा रिफर गरिएकोमा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा पौडेललाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । 

मृतक पौडेलको शव हाल अस्पतालमै छ भने मोटरसाइकल चालक मकवानपुरको बकैया गाउँपालिका–१२ घलेगाँउ बस्ने अन्दाजी ३१ वर्षीय बलराम घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।