इटहरी । सुनसरीको इटहरी १७ मझौरा टोलस्थित खुकुरी प्रहार गरी एक महिलाको बीभत्स हत्या भएको छ । सोमबार दिउँसो ३ः४५ बजे भोजपुर साल्पा सिलिचो गाउँपालिका ९ का ४९ वर्षीय निमा तामाङले मझौरा टोल बस्ने ३५ वर्षीया कमला तामाङको हत्या गरेका हुन् ।
सामान्य विवादको क्रममा कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले निमालाई खुकुरीसहित पक्राउ गरेको हो ।
खुकुरी प्रहार बाट गम्भीर घाइते भएकी कमलाको धरान घोपा हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । उनीहरूबीचको सम्बन्ध जेठी सासु–ज्वाइ रहेको छ ।
मृतकको बहिनीसँग नीमाले पहिला बिहे गरेको र अहिले डिभोर्स भएको भनिएको छ । नीमाले कमलाको घाँटीमा पटकपटक खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृतक कमलाका श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । मृतककी दुई छोरी रहेका छन् ।