एजेन्सी । भारतको वानखडे मैदानमा अस्ट्रेलिया र अफगानिस्तानबिचको विश्वकपको  रोमाञ्चक खेल क्रिकेट इतिहासकै दुर्लभ खेलमध्येको एक रह्यो । विश्वभरका क्रिकेट समर्थकका लागि यो खेल कुनै रोमान्चक फिल्मभन्दा फरक रहेन ।

खेलमा अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २ सय १ रनको दोहोरो शतकीय अविजित इनिङ खेल्दै अफगानिस्तानमाथि ३ विकेटको रोमाञ्चक जित हाँसिल गरे । जितसँगै अस्ट्रेलियाले लगभग गुमाइसकेको सेमिफाइनल यात्रा निश्चित गर्यो ।

म्याक्सवेल आफ्नो पारीमा घाइते भए, दुई पटक फिजियोमा आए, रन बनाउन गाह्रो भयो तर म्याक्सवेल न रोकिए न थाके। १ सय २८ बलमा २१ चौका र १० छक्का प्रहार गर्दै २ सय १ रनको सानदार इनिङमा टिमको जित निश्चित गरे।

अफगानिस्तानले ५ विकेटको क्षतीमा २९१ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको अष्ट्रेलियाले १९ ओभर खेलेर ९१ रन बटुल्दा ७ विकेट गुमाइसकेको थियो । म्याक्सवेल नवौं ओभरमा ब्याटिङको लागि मैदानमा आएका थिए । त्यतीखेर ४१ रनको लागि अष्ट्रेलियाले ४ विकेट गुमाइसकेको थियो । म्याक्सवेलको आँखा अगाडि तीन विकेट ढल्यो । त्यसपछि म्याक्सवेलले देखाए विश्वकपमा अहिलेसम्म नदेखिएको खेल । ३ ओभर खेल बाकी छँदै उनले अष्ट्रेलियालाई जीत दिलाए । विश्वकप इतिहासमा यो तेस्रो ठूलो स्कोर हो । 

अष्ट्रेलियाले ८ खेलमा ६ जितमा १२ अंक जोडेको छ भने टोली अंक तालिकाको तेस्रो स्थानमा छ। जबकि अफगानिस्तानको ८ खेलमा ४ जितबाट ८ अंकका साथ छैटौं स्थानमा रहेको छ।

यसअघि नै अष्ट्रेलिया बाहेक दक्षिण अफ्रिका र भारत पनि सेमिफाइनलमा पुगेका छन् । चौथो स्थानमा छनोट हुने दौडमा अफगानिस्तानसँगै न्युजिल्यान्ड, पाकिस्तान र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै छ ।