अर्घाखाँची । अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो । 

मालारानी स्थायी ठेगाना भई भूमिकास्थान १, रजिमे बस्दै आएका बीस वर्षीय गोपाल नेपालीले मालारानीको गोखुङ्गा निवासी ७२ वर्षीया हरिकला भुसालको हत्या गरेको  प्रहरीले जनाएको छ । 

 यही कात्तिक १४ गते बीस रुपैयाँ नतिरेको निहुँमा नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए । झगडाले उग्ररुप लिँदै गएपछि घरमा एक्लै रहेकी बृद्धा भुसाललाई मुक्का तथा खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेको उनले प्रहरी समक्ष स्वीकार गरेका छन् । 

हत्यापछि बृृद्धासँग भएको नगद र सुनका गरगहनासमेत चोरेर नेपाली फरार भएका थिए । अहिले नेपालीलाई पक्राउ गरी अदालतबाट म्याद गराएर अनुसन्धान थालिएको छ ।