इटहरी । इटहरीको जनता बहुमुखी क्याम्पसमा स्नातक तहमा पत्रकारिता तथा आम सञ्चार विषय लिएर पढ्ने विद्यार्थीहरू प्राध्यापक विहीन भएका छन् । वि.ए मा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापन गराउने प्राध्यापक भदौ देखि नभएकाले सो विषयमा जनता बहुमुखी क्याम्पसले अर्को प्राध्यापक नराखे पछि विद्यार्थी प्राध्यापक विहीन भएका हुन ।

पटक पटक विद्यार्थीले प्राध्यापकको माग गरे पनि क्याम्पसले अर्को प्राध्यापक राख्न ढिलासुस्ती गरेको सो विषय अध्ययनरत एक विद्यार्थीले बताएका छन्  । कर्मचारी नियुक्तिको विषयमा क्याम्पसमा आन्दोलन चर्काउने विद्यार्थी सङ्गठनहरू यो विषयमा भने आवाज नउठाएको भन्दै विद्यार्थीले गुनासो समेत गरेका छन् । सोही विषय अध्ययन गर्न धरानको महेन्द्र बहुमुखी क्याम्पसमा वार्षिक लगभग ११ हजार शुल्क तिर्नु पर्छ । जनता क्याम्पसमा लगभग ३६ हजार तिर्नु परेको स्नातक दोस्रो वर्षमा अध्ययनरत छात्रा विनीता कटुवालले जानकारी दिइन ।

क्याम्पसले चर्को शुल्क लिएर पनि पढाइमा हेलचेक्र्याइँ गरेको बताएकी छिन । क्याम्पस दिनहुँ जाने गरेको तर सो विषय कसले पढाउला भन्ने अहिले सम्म टुङ्गो नलागेको उनले बताइन । दोस्रो वर्षमा मिडिया अनुसन्धान विधि विषय भदौ देखि पढ्न पाइएको छैन । "हामी आउँछौ पढाइ हुँदैन त्यतिकै फर्केर जान्छौ" उनले बताइन । क्याम्पसले आउँदो आइतबार देखि प्राध्यापकको व्यवस्थापन मिलाउने बताएको छ ।

लामो समय देखि सो विषय अध्ययन गर्न नपाएका विद्यार्थी भने अझै अन्योलमा रहेका छन् । क्याम्पसले महँगो शुल्क लिने भएकाले पत्रकारिता अध्ययन गर्ने विद्यार्थी सङ्ख्या पनि न्यून हुँदै गएकोले पत्रकारिता तथा आमसञ्चार शिक्षण विभागको भविष्य नै अन्योलमा रहेको वि ए चौथो वर्षमा अध्ययनरत छात्र नवीन दाहालले बताएका छन् । क्याम्पसले लिने शुल्क चर्को  भएकाले पत्रकारिता अध्ययन गर्न चाहने विद्यार्थी धरानको महेन्द्र बहुमुखी क्याम्पस कि काठमाडौँ केन्द्रित हुन थालेको दाहालले बताएका छन् ।