काठमाडौं ।  हिमालयन रिइन्स्योरेन्सको साधारण सेयर बुधबारबाट निष्कासन भएको छ। कम्पनीले प्रिमियम मूल्यमा प्रतिकित्ताको २ सय ६ रुपैयाँमा सेयर खुला गरेको हो।  

निजी क्षेत्रको पहिलो पुनर्बिमा कम्पनीले एक सय अंकित मूल्यमा  १ सय ६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २ सय ६ रुपैयाँका दरले सेयर खुला गरेको छ। सेयर न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। जसअनुसार न्यूनतम १० कित्ता भर्नेले २ हजार ६० रुपैयाँ र अधिकतम ३ लाख कित्ता भर्नेले ६ करोड १८ लाख रुपैयाँ खर्चनु पर्नेछ।  

कम्पनीले सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर जारी गरेको छ। ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ। कम्पनीको हालको अधिकृत पुँजी १० अर्ब रुपैयाँ हो। 

कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट ३ करोड कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकामध्ये वैदेशिक रोजगारीमा गएकालाई १० प्रतिशत कित्ताका लागि सेयर आवेदन खुलाएर मंसिर २४ गते नै बाँडफाँट गरिसकेको छ। कर्मचारीका लागि ६ लाख कित्ता र १५ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याएको कम्पनीले जनाएको छ।