झापा । झापाको मेचीनगरमा सिटी सफारी पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सफारी चालक मेचीनगर नगरपालिका–९ का ४५ वर्षीय बद्रीबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेचीनगर– १० स्थित धुलाबारीमा आज बिहान उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्र–१–०१–००२ ह ७६५ नम्बरको सिटी सफारी आफैं अनियन्त्रित भइ सडकमा पल्टिदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका चालक बस्नेतलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याएलगतै चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । 

सिटी सफारी इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको छ ।