जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो  । ट्रयाक्टरमा जस्तापाता रहेको जनाइएको छ । 

दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा सोही वडाको डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले निकालेको विज्ञप्तिमा जनाइएको छ   । 

विज्ञप्तिका अनुसार सो दुर्घटना गए राति १० बजे भएको हो । सो दुर्घटनामा अन्य नौजना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, वडा नं १० का ३८ वर्षीय रमेश सार्की, वडा नं ८ का १४ बर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमारघर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् ।

घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उक्त ट्रयाक्टरका चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक अहिले फरार रहेका छन् ।