काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विज्ञापन आह्वान गरेको छ । सातै प्रदेशबाट विभिन्न विषयमा ४३६ पदका लागि आयोगले विज्ञापन आह्वान गरेको हो ।

आयोगले नेपाली विषयका लागि ६७ जनाको विज्ञापन आह्वान गरेको छ । त्यस्तै अंग्रेजी विषयका लागि ७९, गणितका लागि ८५, विज्ञानका लागि १२४, सामाजिक विषयका लागि ५३ जनाको लागि विज्ञापन आह्वान गरेको हो ।

त्यस्तै अर्थशास्त्रका लागि ७, कार्यालय सञ्चालन तथा लेखाका लागि १५, संस्कृत व्याकरणका लागि ३, कम्प्युटर विज्ञानका लागि ३ जनाको लागि विज्ञापन आह्वान गरेको हो ।

आजदेखि माघ १५ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । लिखित परीक्षा भने चैत ३ गतेहुनेछ । लिखित परीक्षा (विषयगत) को मिति सामान्य परीक्षाको नतिजा प्रकाशनपछि तोकिने आयोगले जनाएको छ ।

मावि तहका लागि परीक्षा केन्द्रहरू कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली तोकिएको छ ।

आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पुरा गरेको हुनुपर्नेछ ।

अंग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विषयको हकमा भने तालिम नभए पनि आवेदन दिन सकिने आयोगले जनाएको छ ।