काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मृत्यु हुनेमा बा.६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङ घर भएका २० वर्षीय सुसन राई र खोटाङको दिक्तेल नगरपालिका–१० घर भएकी १८ वर्षीया मुनाकला राई छन् ।

सोमबार बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बससँग विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल ठोक्किएको हो । बस चालक मन्थली नगरपालिका घर भएका २४ वर्षीय रुपेश अधिकारीलाई पक्राउ गरिएको छ ।