मकवानपुर। मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । बुधबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्‍याङस्थित पूर्वपश्चिम राजमार्गमा अभ्यासका लागि दौडिँदै गरेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको हो ।

अन्य २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा डडेलधुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौडामा कार्यरत वर्ष २५ का प्रहरी जवान विनोद एडी रहेका छन् । प्रहरी जवान एडीलाई हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एडीलाई उपचारको लागी हेटौँडा अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले   जनाएको छ । 

मोटरसाइकलको ठक्करबाट घाइते भएका प्रहरी जवान नवराज सार्की र विजय खत्री सामान्य अवस्थामा रहेको र उपचारपछि डिस्चार्ज गरिएको उनले बताए । प्रहरी जवान एडीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकल पल्टिँदा मोटरसाइकल चालक समेत घाइते भएका छन् । 

हेटौँडा ४ का ४२ वर्षीय मोटरसाइकल चालक लक्ष्मण लामाको टाउको र हातमा चोट लागेको र हेटौँडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।