काठमाडौँ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा र्‍याप गीतको रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ हुने भएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शो एपीवान टेलिभिजनबाट प्रसारण हुने जानकारी दिएको हो ।

युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खानले शोका लागि फेब्रुअरीबाट अडिसन शुरु हुने बताए । उनका अनुसार टेलिभिजनमा अप्रिलबाट र्‍याप ब्याटल नेपाल प्रसारण हुनेछ । ‘शोमा नेपाली सांगीतिक फाँटकादेखि बलिउडका संगीतकर्मी निर्णायक हुनेछन् ।

शोको अडिसन काठमाडौँ, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुढी र सिक्किममा हुनेछ । शोका इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले शोको अडिसन दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलिगढीमा माघ २९, झापामा फागुन ०२, इटहरीमा फागुन ०५, चितवनमा फागुन ०९, पोखरामा फागुन १२ र काठमाडौँमा १८ तथा १९ गते गरिने बताए । उनले विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको लागि डिजिटल अडिसन गरिने छ।

एपिवान टेलिभिजनका समाचार प्रमुख निरजराज जोशीले शोको सफलताको कामना गर्दै टेलिभिजनले शोलाई सफल पार्न सहयोगीको भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा पे वेलका असिस्टेन्ट सिईओ प्रज्वल आचार्य लगायतको उपस्थिति रहेको थियो ।