नेपालमा केही जनताले अपेक्षा गरेका पाटीहरूको जनाधार कमजोर हुँदै गएको परिस्थितिलाई नियाल्ने हो भने प्रमुख नेता र अगुवा कार्यकर्ताको जीवन शैलीलाई पनि एउटा कारणको रूपमा हेर्न सकिन्छ । आजको परिस्थितिमा पाटीको लाखौँ कार्यकर्ता हुँदा समेत गाउँमा किसानले अर्मपर्म नपाउने, खेताला नपाउने र मलामीको पनि अभाव हुँदै जाने स्थितिले भुइमान्छेको मन जित्न सकेको छैन ।

नेतामा छाउँदै गरेको सेलिब्रेटी पारा, सम्पत्तिको लोभ र सरल जीवनशैलीको अभावका कारण जनता र नेता बिचको दुरी बढ्दै गएको छ । आजको प्राविधिक युगमा जनता कुनै माध्यमबाट सिधै नेतासँग जोडिएका हुन्छन् । दुख पर्दा आफन्त भन्दा सुरुमा आफूले मान्ने नेता वा जनप्रतिनिधिलाई सम्झिन्छन् । अस्पतालको बेडबाट ठुलो अपेक्षा लिएर गरेका फोन होस् वा म्यासेज बेवास्ता गर्नाले पनि जनतामा आशा मर्दै गएको पाइन्छ । नेतृत्व सरल हुनु पर्नेमा घमन्डी, सहयोगी हुनु पर्नेमा निरङ्कुश हुँदै जानथालेकाले नेपाली राजनीतिमा त्यसको प्रभावले अस्थिरता  र अशान्ति मच्चाउँदै गएको छ ।  दिनरात पाटी भन्दा अरू नसोच्ने नेताको चाकरी मात्र गर्ने र आलोचनालाई गाली भनी ठान्ने कार्यकर्ताका कारण पनि पाटी प्रतिको क्रेजलाई घटाउँदै गएको हो   ।

हेर्दा बौद्धिक देखिने बेलाबेला जनताको घरदैलो पनि गर्ने तर पुरानै शैलीबाट पाटिलाई अगाडी बढाइरहेका पाटिका नेताले नयाँपन दिन नसकेर पनि जनतामा नयाँ जोस सृजना हुनसकेको छैन । युवालाई आकर्षण गर्न सकेको छैन । जनतालाई एकढिक्का पार्न सक्ने नयाँ जोस पनि भएको र रचनात्मक आन्दोलन गर्न सक्ने तर आर्थिक रूपले कमजोर युवालाई नेतृत्वबाट वञ्चित गर्दा पाटीहरूमा पुनर्जागरण हुनसकिरहेको छैन । यस्ता युवाहरू घर परिवारको जिम्मेवारीले विदेशीन बाध्य छन् जसले गर्दा पनि थप निराशा जगाएको पाइन्छ ।

 यी सब हुनुमा यो परिवर्तित समय अनुसार पाटीको ठोस रणनीतिक कार्ययोजना नहुनु पनि एक हो । हामीले बनाएका योजना कार्यान्वयनका पाटोमा जाँदा असफल हुनु पर्ने, तल अभियानको जिम्मा पाउनेले टोल टोलमा कार्यकर्ता नपाउने अवस्थाले मात्र हामी विफल भएका हैनौ । हामी विफल हुनुमा हाम्रो सोच पनि एक हो । बिहान बेलुका हातमुख जोड्न मुस्किल हुँदै गएको परिस्थितिमा कार्यकर्तालाई पूर्णकालीन बनाउने, पार्टीमा व्यस्त कार्यतालिका बनाउने र केही गर्दै आएका कार्यकर्तालाई समेत अलमल्याउँदै महत्वाकांक्षी बनाइदिने हाम्रो शैलीले पार्टीलाई दैनिक रूपमा कमजोर बनाउँदै गएको हो । कार्यकर्तालाई आयआर्जन र उत्पादनसँग जोड्ने योजना दिन नसक्नु उल्टै उत्पादनमा जोडिएकालाई पनि  पाटिका बैठक कार्यक्रम वा अभियानका नाममा अलमल्याउँदा व्यापारमा असर परेको उदाहरण हामीसामु थुप्रै छन् ।

चुनाव लागे पछि मात्र घरदैलो गर्ने र जिते पछि नाकमुख नदेखाउने जनप्रतिनिधिका कारण पनि जनधार कमजोर हुँदै गएको हो । सरकारमा रहेका बेला राम्रा काम नभएका हैनन् । जनताको जीवनमा प्रत्यक्ष अनुभूति हुने काम पनि सरकारमा रहँदा नगरेको हैन तर पनि किन परिस्थिति बिग्रँदै गएको होला ? यसो हुनुमा भ्रष्टाचारका विभिन्न काण्डहरू पनि मुख्य हो नै तर त्यो भन्दा पनि हिजो के कारणले जनधार बलियो थियो भन्ने कुरा स्वयम पाटिका नेताले नै बिर्सिँदै गएर पनि हो ।  

काम गरेर मात्र जनताको मन जित्न नसकिँदो रहेछ भन्ने कुरा नेकपा माओवादी केन्द्र सरकारमा रहँदा लोडसेडिङको अन्त्य गरिसके पछि जनताबाट पाएको मत परिणामलाई पनि उदाहरणको रूपमा हेर्न सकिन्छ । त्यसो भए के गर्ने कसरी पाटी बलियो बनाउने भन्ने प्रश्नको उत्तर विद्यमान नेपालका पाटीहरू आफैसँग छ । हिजो के गरेर पहिलो भएको थियो आज परिवर्तित समयको माग अनुसार आफूलाई परिमार्जन गरेर त्यही गर्ने । हिजो जनता र राजाको दुरी फराकिलो भएर जनताले राजा फाले त्यसमा नेपालका सबै पाटी एक भएर आन्दोलन गरेका थिए । आज जनता र नेता बिचको दुरी व्यवहारले टाढा हुँदै गएकोले जनतामा निराशा छाउँदै गएको छ । सबै पाटी एक भएर जनताको निराशालाई आशामा बदल्न सकिन्छ  ।

जनचाहना विकास भए पनि पाटीहरूको बुझाइको विकास र जनताले चाहेको विकास बिच तालमेल नमिल्दा पनि जनतामा खुसी छाउन सकेको छैन । विभिन्न कालखण्डमा विभिन्न पाटीको नेतृत्वमा भएको आन्दोलनको परिणामलाई आज स्वयमले चिन्न नसकेर पो हो  कि ? खासमा जनताले नेतालाई साथीको रूपमा खोजिरहेका छन् । हिजो आफ्नो समस्या बताउन मुखियाकोमा जानु पर्थ्यो । सुकिलामुकिलाले मात्र मुस्किलले मुखियासँग भेट पाउँथे । मुखियालाई सुनाएका गुनासो मध्ये कति अर्कोकान बाट उडेर जान्थ्यो । केहीले ठाउँ पाए पनि समाधानको टुङ्गो हुँदैन थियो । कति समस्या बोकेर जाने जनता माथि नै तै समस्या होस् भन्दै खनिने परिपाटी थियो र त्यही आचरण आज पनि पाटी भित्र जीवितै छ ।

एउटा सहिद बेपत्ता परिवारले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा  प्रधानमन्त्रीसँग भेट्न नपाएको घटना बाहिर आइरहेको कुरा नौलो हैन । नेकपा एमालेमा पनि जो कोहीले अध्यक्ष सजिलै भेट्न पाउने अवस्था छैन । काँग्रेसको पनि अवस्था उस्तै हो । अन्य पाटीमा पनि हविगत उही छ । त्यसो हुनुमा पाटीका अध्यक्ष मात्र दोषी छन् भन्ने हुँदैन । यसै सन्दर्भमा प्रचण्ड स्वयमले हामी आफैमा  केहित मिसिङ छ पनि भन्दै आएका छन् ।,मैले खोजेको पनि त्यही मिसिङ कै बारेमा हो । वर्तमान समयमा धेरै कुरा मिसिङ छ । नेताहरूको भावना हराएको छ । सृजनशीलता हराएको छ । जनता र नेता बिचको सामिप्यता हराएको छ र नेता नै कतै हराइरहेका छन् । 

पार्टीहरू जनताको दैनिकीसँग जोडिन सकेका छैनन् । साहित्यकारले देशलाई सुनाउन लेखेका साहित्य सुनाउन सकेका छैनन् । हामीले राम्रो गीत गाउने साइँलीकी छोरीका गीत सुन्न पाएका छैनौँ अनि दिनरात भकुन्डो लिएर कुद्ने माइलाको छोरोलाई फुटबल मैदानमा हेर्नै पाएका छैनौँ । बोल्न नपाएका जनताले बोल्न पाए तर माइला र साइँला जस्ता भुईंमान्छेले आफ्नो कुरा सुनाउन पाएका छैनन् । उनीहरू आज पनि राज्यको पहुँचभन्दा धेरै तल छन् । आज पनि उनीहरूले सरकार र नेता भेट्न एकजोर जुत्ता फटाउनुपर्ने अवस्था छ । हो, यहीँ ‘मिसिङ’ भएको छ ।

नेताहरू यहीँनेर चुकेका छन्, यहीँनेर अलमलिएका छन् । सुकिलामुकिला मान्छेका औपचारिक कार्यक्रममा हाम फालेर जाने नेताहरूले भुईंमान्छेलाई बिर्सँदै गएका छन् । उनीहरूले गर्ने भनेको समाजसेवा तल्लो तहले प्रत्यक्ष महसुस गर्न पाएको छैन । सोचौत देशले कसरी महसुस गर्न पाओस् ? अगुवा नेताहरूको बिहान देखि बेलुका सम्म हुने व्यस्ततालाई नियाल्ने हो भने कि उनीहरू कार्यकर्ताबाट कुनै कार्यक्रममा डोरिइरहेका छन् । कि कुनै सुकिला व्यक्तिको संस्थाले आयोजना गरेको कार्यक्रममा दिन काटिरहेका छन् । कुनै संस्थागत वा आफ्नै पाटीको सङ्गठनात्मक कार्यक्रममा नै दिनहुँ व्यस्त छन् । औपचारिक कार्यक्रम नै उनीहरूको दिनचर्या बन्दै आएको छ ।

गम्भीर प्रश्न यो हो कि, अनौपचारिक रूपमा भुइतहका मान्छे सम्म जोडिने उद्देश्यले नेपालका नेता  वा सरकारले स्वविवेक के कस्ता योजना बनाएका छन् ? त्यस्तै सबै पाटिका  प्रदेश, जिल्ला, पालिका र वाडका नेताहरूले जनताको आवश्यकता महसुस गरेर स्वविवेकले कुन योजना बनाएका छन् ? छैन भने किन सधैँ जनताले समर्थन मात्र गर्नु ? हो यही हो हाम्रो आज सम्मको मिसिङ चिज । सबैले आसा गरेको नेतृत्वसँग नै जनताको लागी समय छैन । जनताको निमित्त आफ्नो नियमित अभियान छैन । पाटीको छुट्टै अभियान होला । पाटीगत आस्था फरक रहनेले देशको प्रधानमन्त्री वा दलको नेतालाई भेटेर कुरा राख्न नपाउने ? कसरी जोडिने ? नेता भेट्न पनि राजनीति गर्नु पर्ने ?

मेरो विचारमा प्रत्येक जनप्रतिनिधिको भुइमान्छे सम्म पुग्न आफ्नै  एउटा अभियान हुन जरुरी छ । जनतासँग सिधै  अनौपचारिक रूपमा सहभागी हुन जरुरी छ । जस्तै हप्ताको कम्तीमा एक दिन औपचारिक प्रोग्राममा नजाने, जनतासँग जोडिने, जनताको गुनासो सुन्ने जनताको घरदैलोमा निस्किने र साधारण जीवनशैलीमा आम मानिस सरह सबैसँग घुलमिल हुने एउटा अभियानको थालनी हुन जरुरी छ । यसले आसेपासे चाकरी गर्नेहरूले सुनाएका विवरण र यथार्थ बिचको फरक थाहा पाउन सजिलो हुन्छ । आफूले जनताका निमित्त खेल्नु पर्ने सबै खाले भूमिकाको अवगत तथ्यमा आधारित हुने हुँदा जनता बिचको दुरीमा पनि कमी आउँछ  । कार्यकर्तालाई पनि जनतासँग सुखदुख साटेर आऊ भनेर आदेश दिए पनि हुन्छ । 

हप्ताको एक दिन पाटीको नेतालाई घेरा नहालौँ पर्याप्त समय दिम । नेतासँगै एक दिन कार्यकर्ता पनि विशेष अभियानमा जनताकै घरदैलोमा पुग्ने जनताको सुख दुखमा साथ दिने जनताको असली साथीको रूपमा आफूलाई विकास गर्ने हो भने अनि जितिन्छ कि जनताको मन मनन् गर्नुस् त ? एक दिन साँच्चै जनताको आवाज बोल्छु भनौँ । पालिकाका कुनामा पहल नपुगेर बिजुलीका तारहरूले घरको धुरी नै छुन लागेको हुन सक्छ । देख्नसाथ त्यहीबाट सम्बन्धित निकायलाई तुरुन्त समस्याको समाधान गराउन पहल गरौँ । जनसहभागितामा समस्या समाधान भएको महसुस गराउनु । कहीँ सिचाइ नपुगेको होला कहीँ बाटो नपुगेको होला त कहीँ स्वयम नेता नपुगेको ठाउँ होला त्यहाँ पुगेर जनसमस्या समाधानमा जुटौँ । जस लिने होडबाजीमा समय बरबाद नगरौँ ।

यो व्यवस्थामा हाम्रो पनि संलग्नता छ भन्ने महसुस गराउन हप्ताको एक दिन जनताको सेवामा लाग्ने हो कि ? यो व्यवस्थालाई माया गर्ने नेता वा सरकारसँग जनता सम्म पुग्ने एक दिन निजी समय हुन जरुरी छ । उसले ती साइँलीको छोरीले गाएको गाना सुनेर एउटा गाना रेकर्ड गरिदिन पहल गर्नु पर्छ । त्यो माइलाको छोरोलाई राष्ट्रिय खेलाडी बनाउन लाग्नु पर्छ । ती सुनाउन चाहेका साहित्य आफै अग्रसर भएर सुन्नु पर्छ ।  आफै किसानको खेताला हुन सक्नु पर्छ । यसरी सबै नेतृत्वमा भावना आउने हो र एउटा नयाँ अभियान वा भनौँ नयाँ क्रान्तिको थालनी आजैबाट सुरु गर्ने हो भने ती बाझो खेत पनि हरियाली हुने थियो । परनिर्भरताको पनि अन्त्य हुने थियो र पाटीहरूको जनधार सधैँ बलियो हुने थियो । निराशाहरू बिस्तारै अन्त्य हुँदै जाने थिए । नेताले आफूलाई कलाकार नसम्झौँ वरिपरि भिड जम्मा नगरी आधारभूत वस्तिहरू सम्म पुग्ने गरौँ । बिरामी आमालाई छाडेर बिदेसिएको छोरालाई देशमा पाटिले राम्रो काम गर्दै छन् । मेरी आमाको हेरचाहमा मलाइ सघाउँदै छन् भन्ने महसुस गराउन सकौँ । एउटै घरको परिवार सरह जनताको दुख सुखमा जोडिने पो हो कि ? अनि मात्र जनतामा रहेका अपेक्षाहरू जीवित रहला नत्र निराशाले। सधैँ घेरिरहने छ ।