काठमाडौं  । राष्ट्र बैंकले गत पुसमा विभिन्न पदमा जागिर खुलाएको थियो । त्यसमा सहायक निर्देशक (सूचना प्रविधि) र सहायक (सूचना प्रविधि) को पदमा पनि जनशक्ति माग गरिएको थियो । 

त्यस पदका लागि विज्ञान तथा प्रविधि अथवा इन्जिनियरिङ सङ्कायबाट कम्प्युटर साइन्सरआईटी अथवा सो सरहको विषय उत्तीर्ण गरेको हुनु पर्ने सर्त थियो । बिआइसिटि र बिसिए जस्ता विषयलाई सरकारी निकायले नै जागिरका लागि मान्यता दिएन । बिआइसिटि त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र सङ्काय अन्तर्गत पर्ने प्रविधि मुलक विषय हो।

त्रिविबाट बिआइसिटि उत्तीर्ण करिब एक हजार विद्यार्थी र बिसिए उतिर्ण गरेका दुई हजार विद्यार्थीको साझा समस्या हो ।

कोर्समा भर्ना हुनु अघि लोकसेवा आयोगमा भिड्न पाइने, आईटी अफिसर बन्न सकिने लगायतका प्रलोभन देखाइए पनि अहिले विद्यार्थीमाथि धोका भएको उनीहरूको भनाइ छ । त्यसमा पनि कोभिड महामारीका कारण एक वर्ष पढाइ धकेलिँदा थप मारमा परेको गुनासो विद्यार्थीले गरिरहेका छन् ।

“सामाजिक अध्ययन र व्यवस्थापन बाहेक बीसीएमा करिब ७५ प्रतिशत कम्प्युटरसँग सम्बन्धित विषय पढाइ हुन्छ,” सङ्कायका डीन प्राध्यापक डाक्टर कुसुम शाक्य भन्छिन्, “मानविकीमा बीसीए पढाइ भएकाले नै यसलाई मान्यता हुन्न भन्नु गलत बुझाइ हो ।”

त्यस्तै सङ्कायका सहायक डीन प्राध्यापक डाक्टर ताराप्रसाद भुसाल पनि बीसीए एकेडेमिक काउन्सिलबाट नै पारित भएकाले त्यस्तो शङ्का गर्न नहुने बताउँछन् । “विश्वविद्यालयले कुनै पनि कोर्स हचुवाका भरमा सञ्चालन गर्दैन । लामो समयको अध्ययनरअनुसन्धान र छलफल पछि मात्र कोर्स पढाउने काम हुन्छ,” उनी भन्छन्, “त्रिविले विभिन्न सरोकारवालासँग लगातारको छलफल पछि मात्र बीसीए पढाउन थालेको हो ।”

यता राष्ट्र बैङ्क भने विज्ञान तथा प्रविधि अथवा इन्जिनियरिङ सङ्कायबाहेकका विद्यार्थी आफ्नो लागि उपयुक्त नहुने तर्क गर्छ । “अन्य सङ्कायबाट उत्तीर्ण  विद्यार्थी ती पदका लागि उपर्युक्त नहुने हाम्रो पदपूर्ति समितिको निर्णय छ,”   बैङ्कको मानव संसाधन व्यवस्थापन विभागका एक कर्मचारी भन्छन्, “विश्वविद्यालयले कुन विषय कहाँ पढाउँछ भन्ने हाम्रो सरोकार भएन । हामीलाई सम्बन्धित पदको लागि सम्बन्धित विषय पढेको जनशक्ति चाहिने हो ।”

डीन कार्यालय भने कम्प्युटरलाई फरक सङ्कायमा पढाउनुलाई कमजोरीको रूपमा स्वीकार गर्न तयार छैन । बरु जागिर दिने निकायका मान्छेहरूमा गलत बुझाइ भएको तर्क गर्छ । 

यसको समाधान खोज्न विद्यार्थीहरुले विभिन्न दलका नेताहरुलाई भेटेर ज्ञापनपत्र समेत बुझाएका छन् । नेपाल विद्यार्थी संघ मेचि बहुमुखी क्याम्पसले काग्रेस महामन्त्री एवं पुर्व स्वास्थ्य मन्त्रि गगन कुमार थापालाई ज्ञापन पत्र समेत बुझाएका थिए । शिक्षा समितिमा ज्ञापन पत्र बुझाउने तयारी र देशभरका विद्यार्थी एक जुट भई यसलाई मान्यता दिलाउने गरी अघि बढेको नेविसंघका नेता निश्चल घिमिरेले बताएका छन् ।