बसन्तको पर्खाई सम्म खुम्चेर
माहुरीको भुन्भुनाहट सुनेर
पारिलो घाममा
आफ्ना, पत्र पत्र उघार्दै
भमरा बोलाउन मात्र
आजकाल
फुल्दैनन् फूलहरू

काँडाको लिस्ना उक्लेर
जरा भन्दा माथी माथि
दिनभरी लजाएर
रातमा रातो रानी झै
बिहानै मग् मगाउने
पारीजात झै
खै किन आजकाल फुल्दैनन्
फूलहरू?

आजकाल, शिशिरको उजाडमा
हेमन्तको ठिहिमा
वर्षाको भेलमा
ग्रिष्मको उफ्उफीमा
बिना वसन्त
घारिला घारहरु बोकेर
हिटलर र गान्धिको परागसेचन गराएर
नव विजहरु निकाल्न
हाइब्रिडको उत्ताउलोपना
सम्हालिन नसकेर होला
आजकाल
फूल जस्तो फुल्दैनन्
फूलहरु

भमरा बिहिन अनकन्टारमा
वसन्त को कुरै छाडौं
घामै नझुल्किने अन्घकारमा
भ्यालेन्टाइनमा नबिकेको गुलाब बने पनि
लास माथि चडेर जुठो बने पनि
देवस्थलमा उक्लेर प्रसाद बने पनि
जस्ले जता बङ्गाए पनि
फूल फूलै हो
तर
बिना संवेदना
बिना प्रेमिल बासना बोकेर
आजकाल ,
सुगन्धहिन जिजिविशा बोकेर
आर्टिफिसियल मुडमा
जथाभावी फुल्छन्
फूलहरू

मलाई टिप्न त के !
हेर्न पनि डर लागेर आउछ
किनकी
दफा उपदफाका बारबेरा भित्र
नक्कली सुरक्षाको अनुभूति सहित
आजकाल फूल जस्तो फुल्दैनन्
फूलहरू।