इटहरी । प्रदेश सरकारबाट सुनसरीकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयका रूपमा प्रोत्साहन पुरस्कार पाएको इटहरीको जनता माविले ९ कोठाको साइन्स ल्याब बनाएको छ । 

पछिल्लो पाँच वर्षमा मात्र इटहरी ६ र ९ मा गरी यस स्कुलका ७ वटा भवन र ६७ वटा कोठा विस्तार गरेको विद्यालयले यो वर्ष साइन्स विषयलाई प्राथमिकता दिएर पूर्वाधार निर्माण गरिरहेको छ । सोही क्रममा इटहरी ९ मा ९ कोठाको ल्याब निर्माण गरेको हो ।

यससँगै ४०–४० जना बसेर चलाउन मिल्ने गरी दुई वटा कम्प्युटर ल्याबसमेत सञ्चालनमा ल्याएको छ । दुवै ल्याबहरू कक्षा १२ सम्मका विद्यार्थीहरूले प्रयोग गर्नेछन् । विद्यालयमा हाल तीन हजार पाँच सय जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको सङ्ख्या निरन्तर बढ्दै गएपछि विद्यालयले पूर्वाधार निर्माणको काम धमाधम गरिरहेको छ । 

यससँगै यो वर्षदेखि इटहरी वडा नं। ९ मा रहेको आफ्नो ग्राउन्डलाई विद्यालय मातहत ल्याएको छ । वरपर प्रयोगविहीन भएको आफ्नो जग्गालाई पनि कम्पाउन्डभित्र ल्याइ स्तरोन्नतिको काम अघि बढाइएको व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए । विद्यार्थीको सङ्ख्या बढेपछि लामो समयदेखि सार्वजनिक मेला, महोत्सवमा प्रयोग भइरहेको स्कुलको जग्गालाई अब कम्पाउन्डभित्र समेट्नुपरेको बताए । यसका साथै अगाडी बास्केटबल कोर्ट लगायत खेल पूर्वाधारहरू निर्माण गर्ने काम पनि भइरहेको छ । साथै विद्यालयले नयाँ भर्नाको लागिसमेत तयारी गरेको छ । यस वर्ष ३०० जना भर्ना लिने तयारी गरिएको उनले बताए ।

विद्यालयले पछिल्लो पाँच वर्षमा काँचुली फेरेको छ । काशीनाथ दंगाल नेतृत्वको व्यवस्थापन समिति आएपछि विद्यालय सुनसरीमै आकर्षणको केन्द्र बनेको छ । विद्यालयको शिक्षण र व्यवस्थापन चुस्त छ भने भौतिक पूर्वाधार निर्माणका कामहरू पनि भइरहेका छन् ।

२०१३ सालमा इटहरीको दोस्रो विद्यालयका रूपमा स्वीकृति पाएको विद्यालय बिचमा बेवास्ताको सिकार बनेको थियो । विद्यार्थी सङ्ख्या घट्दै गएको र विद्यालयको साखस् घट्दै गएको समयमा काशीनाथ दंगाल नेतृत्वको व्यवस्थापन समिति आएपछि विद्यालयमा सुधारका कामहरू हुन थालेका हुन् । 

विद्यालयमा नेपाली र अङ्ग्रेजी पढाउने छुट्टै छुट्टै दुई वटा ब्लकहरू छन् । विद्यार्थीहरूले पढ्नै पर्ने महत्त्वपूर्ण किताबहरू भएको पुस्तकालय, कम्प्युटर ल्याब, आफ्नै ३ वटा स्कुल बस भएको जनता माविमा शिक्षक कर्मचारी गरेर डेढ सय बढी आबद्ध छन् ।

हरेक कक्षाकोठामा सिसिटिभी क्यामेरा जडान गरिएको छ । शिक्षाको मनिटरिङ कोठाबाटै हुने गरेको प्रिन्सिपल पशुपति सिग्देल बताउँछन् । कक्षा कोठाहरूलाई स्मार्ट बनाउनेदेखि अङ्ग्रेजी माध्यमबाट पढाउने अनि इटहरीभरिकै उत्कृष्ट शिक्षकहरू नियुक्त गर्ने क्रम सुरु गरेपछि विद्यालयमा विद्यार्थीको चाप थेगिनसक्नुले बढेको छ । 

विद्यालयमा कम्प्युटर, शिक्षा, मानविकी विज्ञान र व्यवस्थापन समूहमा पढाई हुँदै आएकोमा यस वर्षबाट कानुन विषय पनि थप गरिएको सिग्देलले जानकारी दिए ।  अध्यक्ष दंगालले भने विद्यालयका शिक्षकहरू, व्यवस्थापन समितिका बाँकी सदस्यहरू, अविभावकहरु र स्थानीय राजनीतिक दलका नेतृत्वहरू सबैको साथ सहयोगका कारण यो उपलब्धि पाएको बताएका छन् । उनले विद्यालयलाई प्रदेशकै अब्बल बनाउने प्रयासमा आफूहरू रहेको पनि बताएका छन् ।

विद्यालयमा भौतिक पूर्वाधार निर्माणदेखि शिक्षणको गुणस्तर सुधारका कामलाई पनि प्राथमिकता दिएकोले विद्यालय आकर्षणको केन्द्र बनेको विद्यालय व्यवस्थापन समितिका शिवराज दाहालले जानकारी दिए । उनले सबै राजनीतिक दल तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू विद्यालयलाई राम्रो बनाउनुपर्छ भन्ने भावनाका साथ एकजुट भएकोले विद्यालय उत्कृष्ट बनेको बताएका छन् । उनले विद्यार्थी सङ्ख्यालाई थेग्नको लागि अझै पनि भवनलगायतको पूर्वाधारको आवश्यकता रहेको बताए ।

पर्याप्त सरकारी सहयोग भएर पनि मुर्झाउँदै आएका देशभरका सामुदायिक विद्यालयहरूको लागि जनता विद्यालयको यो प्रगतिले उत्साहित बनाएको छ । विद्यार्थी र अभिभावकमा आकर्षण बढेको छ । इटहरी र आसपासका राम्रा शिक्षकहरूलाई नियुक्ति दिएर विद्यार्थीलाई गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दंगाल बताउँछन् । विद्यालयलाई बनाऊँ भन्ने भावनाले शिक्षकहरूले पनि काम गरिरहेको उनले बताए । 

विद्यालयले एसइई परीक्षामा समेत राम्रो नतिजा ल्याइरहेको छ । गत वर्षको एसइई परीक्षामा सहभागी २९९ विद्यार्थीमध्ये ११ जनाले ९० प्रतिशत भन्दा धेरै, ७२ जनाले ८० देखि ९० प्रतिशत, ९२ जनाले ७० देखि ८० प्रतिशत, ७७ जनाले ६० देखि ७० प्रतिशत र बाँकी सबैले ५० प्रतिशत भन्दा माथि अङ्क ल्याएका थिए । 

प्रत्येक वर्ष थप कक्षा र विषयहरू राखेर विद्यार्थीहरूलाई व्यवहारिक र उपयोगी शिक्षा दिन आफूहरू अग्रसर बनेको उनले बताएका छन् । उनले गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको समेत व्यवस्था गरिएको जानकारी दिएका छन् ।