इटहरी / इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जनयुद्ध दिवसको अवसरमा इटहरीमा रहेका एक सय द्वन्द्व पीडित घर परिवारकाे निःशुल्क स्वास्थ्य बिमा गर्ने  निर्णय गरेका छन् । मङ्गलवार नेकपा माओवादी केन्द्रको ज्ञापन पत्र बुझ्दै जनयुद्ध दिवसको शुभकामना स्वरूप इटहरीमा रहेका एक सय द्वन्द्व पीडित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा इटहरी सरकारले गर्ने मेयर पौडेलले निर्णय गरेका हुन ।

माओवादी केन्द्रका इटहरी नगर अध्यक्ष बहादुर सिंह तामाङ ज्वाला र सचिव राजकुमार आचार्यको हस्ताक्षर भएको ज्ञापन पत्रमा जनयुद्ध दिवसको शुभकामना सहित भूमिहीन सुकुम्वासी अव्यवस्थित बस्ती बसोबासको समस्या समाधानको पहल गर्न र द्वन्द्व पीडितहरूको आर्थिक, सामाजिक , शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगको नीति तथा कार्यक्रम अवलम्बन गरियोस् भन्ने विषय समेटिएको थियो । 

माओवादी केन्द्रको नगर समितिले बुझाएको ज्ञापन पत्र बुझ्दै मेयर पौडेलले जनयुद्धको जगमा आएको परिवर्तन भुल्न नहुने भन्दै जनयुद्ध दिवसको शुभकामना व्यक्त गरे । पौडेलले ज्ञापन पत्रको मर्म अनुरूपमा काम हुने प्रतिबद्धता व्यक्त गर्दै आगामी बजेटमा अन्य विषय सम्बोधन गरिने बताएका छन् ।

जनयुद्ध दिवसको अवसरमा तत्काल लागु हुने गरी यही आर्थिक वर्षमा कुनै संस्था मार्फत इटहरीमा भएका एक सय द्वन्द्व पीडित घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्न चार लाख रकम दिने निर्णय गरेका छन् ।
ज्ञापन पत्र बुझाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष बहादुर सिंह तामाङ ज्वाला उपाध्यक्ष कवीन्द्र केसी, उपाध्यक्ष रितेश श्रेष्ठ , सचिव राजकुमार आचार्य लगायत नगर समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।