सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औँ संस्करण चैत्र १० गते देखि इटहरी रंगशालामा गरिने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लबले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी रात्रिकालीन प्रतियोगिताको लागि दुई वटा अस्थायी लाइट जडान गरिने जानकारी दिएको छ । रंगशालामा दुई वटा फ्लड लाइट जडान भइसकेको जानकारी गराउँदैृ संयोजक अनुरोध थापाले थप दुई वटा लाइटको अस्थायी व्यवस्थापन गर्न लागिएको जानकारी दिए । 

एक सातासम्म चल्ने गोल्डकपमा दुई भारतीय र नेपालका ८ गरी १० टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख, उपबिजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने थापाले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ ।

विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार पाउने छन् । इटहरी उपमहानगरपालिका संयोजन रहेको प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, चर्ज ब्वाईज युनाईटेड, मच्छिन्द्र क्लब, न्यूरोड टिम एनआरटी, सगरमाथा क्लब मोरङ, कञ्चनजंगा फुटबल क्लब भारत, बिर्तामोड युनाईटेड झापा, मानेभञ्ज्याङ क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागिता रहने छ । 

क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनकाअनुसार ७५ लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै कोसी प्रदेश खेलकुद विकास बोर्डले १५ लाख र राष्ट्रिय खेलकुद परिषदले १० लाख रुपैयाँ सहयोग गर्ने आश्वासन दिएको क्लबका अध्यक्ष डुम्जनले जानकारी दिए । स्थानीय सहयोगी दाता र टिकट बिक्रीबाट २४ लाख सङ्कलन हुने बताइएको छ ।

प्रतियोगिताको गत संस्करणमा साढे ३ लाख मुनाफा भएको समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । गत संस्करणमा ५९ लाख ६० हजार ४ सय ५० रुपैयाँ आम्दानी र ५५ लाख ९४ हजार रुपैयाँ खर्च हुँदा ३ लाख ६६ हजार ४ सय ५० रुपैयाँ नाफा भएको आयोजकले जनाएको छ । प्रतियोगितालाई कन्ट्रोल लुब्रीकेन्टले मुख्य प्रायोजन गरेको छ ।