'उनी त धोखेबाज रहेछन्' सर्वप्रथम यो भनाइलाई  प्रस्ट्याइ हाल्छु यो कथन धोखेबाज समूहका नियमित खेलाडी तथा प्रमुख अलराउनडरको हो। बुझ्नु भएन होला धैर्य गर्नुस् यहीँ बुझाउने मेरो  कोसिस हो। खेलाडी र अलराउन्डर शब्द प्रयोग गर्दा खेल सम्झनु भयो होला यो खेल त हो खेलाडी पनि छन् तर  सिङ्गो राज्य र नागरिक माथिको खेलबाड पनि हो। फेरि धोखेबाज भन्दा कुनै कलाकारले गाएको गीत नसम्झनु होला वा अहिले सहरबाट गाउँ छिरेका युट्युबे पत्रकार नामक कलाकारले पर्दाफास गरेको पति पत्नी बिचको धोकाधडि वा प्रेम सम्बन्ध वा अझ भनौँ ब्रेकअपको प्रारम्भिक चरण धोखालाई पनि यहाँ नबुझौँ। धोखाको खेल नेपालमा बढो फस्टाएको छ,चाहे त्यो पति पत्नी बिचको होस या प्रेमी प्रेमिका बिच चाहे त्यो व्यापारीहरू बिच होस या कुनै पनि सम्बन्ध होस धोखा नभएको र धोखा नपाएको कोही छैन राजनीतिकर्मी देखि  नेतागण प्राज्ञिक व्यक्ति जताततै धोकैधोका छ।उसो त यस अध्यायमा प्रमुख राजनीतिक दलका पाथेभाइहरुले दिएको  आम नागरिक माथिको छलकपट र धोखाको कुरा हुनेछ।

यतिका कुरा गर्दा पनि कुरा कहाँबाट सुरु गर्ने मेसो नै पाएन,तर कुरा गर्न जति सजिलो छ त्यति नै अप्ठ्यारो छ ठेट वास्तविक तर्कसङ्गत  कुरा गर्न ।खैर कहिलेकाहीँ एउटा कुरा सोच्ने गर्छु इमान भन्ने कुरा वा चिज संसारमा कतै बाँकी छ र? कोही कसैसँग इमान हुँदै नहुने भन्ने नि हैन  तर के  हो इमान,को हो इमानदारी,को निभाउँछ इमानदारिता ? निष्कपट सत्य निष्ठ बफादार यहाँ को बाँकी छ ? सच्चाइको पहरेदार को छ? बदनियत रहित व्यवहार कसले गरिरहेको छ?  अनि इमानदार बन्नुको भाव कसले देखाएको छ? यस्तै यस्तै  प्रश्न मनमा हुर्किन्छन् र कौतूहल उब्जिन्छ बिस्तारै कौतूहलको वृद्धि विकास हुन्छ अनि शब्द मार्फत धोखेबाजको आकृतिकरण गर्न आवश्यक लाग्छ।

भर्खरै देशमा पुन राजनीतिक उथलपुथल भयो नयाँ  गठबन्धन भयो मन्त्रिपरिषद् फेरबदल भयो यो त हुनु नै थियो तर अहिलेको गठबन्धनमा आम नागरिकको चासो त्यति छैन जति हुने गर्थ्यो सायद नागरिकले धोखेबाजको खेल र खेलको नाम गठबन्धनको स्पष्ट परिभाषा थाहा पाए होलान्। एकातिर गठबन्धन टुटाउने अर्कातिर स्वार्थ सिद्धका लागि साठगाँठ जुटाउने गरी हुने फरक विचारधार भएका राजनीतिक दल बिचको परस्परको मिलेमतो नै गठबन्धनको परिचय बनेको छ। बरु अचेल बेलौरीहरूको प्रेम सम्बन्ध हप्तौँ महिनौँसम्म टिक्छ तर नेपालमा गठबन्धनको आयु आज छ भोलि हुँदैन। 

जनताको चाहाना विपरीत खोक्रो सुशासन, विकास र सामाजिक न्यायको नारा दिएर राष्ट्रिय हित तथा  संविधानको मर्म र भावना  विरुद्ध  सङ्घीय लोकतान्त्रिक गणतन्त्रको खोललाई ओढेर समृद्धिको नारा लगाइ स्वार्थमा आधारित रहेर भिन्न राजनीतिक दल बिच सत्ता साझेदारी गर्ने गरी मन्त्रिपरिषद् बाँडफाँड गरी नेपालमा गठबन्धन सरकार बनाउने चलन जो चलेको छ यो समग्र राज्यलाई धोका हो । धोकेबाजीहरुको फोहोरी खेल हो र बहुदलीय प्रणालीको मर्म विपरीत हो। हुन त देश अनुसारको भेष नै होला जुन मुलुकमा  राजनीतिक सहिष्णुताको अभाव हुन्छ त्यहाँ बहुदलीय प्रणालीको विकास हुन्छ त्यस्तै समानुपातिक प्रतिनिधि प्रणाली अवलम्बन गर्ने मुलुकमा पनि बहुदलीय प्रणाली फस्टाउँछ र परिणाम स्वरूप गठबन्धनको विकल्प देखिँदैन तर यहाँ असल मनसायले विकास र समृद्धिका लागि गठबन्धन भएको छैन यो नै नेपाली जनता माथिको प्रमुख धोखा हो। 

नेपाली जनताले धोखा पाउनबाट उन्मुक्ति पाउन सकेका छैनन्। हिजो राजतन्त्र र राणा शासनबाट पाएको धोखा प्रजातन्त्र स्थापना पछि दलीय स्वार्थबाट पाएको धोका सशस्त्र सङ्घर्षका वेला पाएको धोखा हुँदै नयाँ संविधान निर्माण र देश सङ्घीयतामा लैजाँदै गर्दा खेरि पाएका धोखा अनगिन्ती छन्। दिल्ली सम्झौता देखि बृहत् शान्ति सम्झौता सम्म नेपाली जनता माथि धोखै धोका छ भने राष्ट्र हितका नाममा हुने सर्वदलीय बैठक, सर्वपक्षीय छलफल, मिलीजुली सरकार र ठकबन्धन अर्थात् गठबन्धन र व्याख्यात्मक टिप्पणी जस्ता शब्द धोखाकै पर्यायवाची शब्द हुन भन्न सकिन्छ ।

यहाँ गठबन्धनलाई ठगहरूको बन्धन किन भनिएको हो भने एक राजनीतिक दल वा पक्षसँगको गठबन्धन सरकार  अर्को दल वा पक्षको नजरमा प्रतिगमन हुन्छ र त्यहीँ प्रतिगमन हो भन्नेसँग  गठबन्धन हुन पुगे लोकतन्त्रको उन्नत विकल्प हुन जान्छ तसर्थ यो ठगहरूको खेल हो नागरिक माथिको धोखा हो।

उसो त नेपालमा झोलेवाद मार्फत धोखाको ढाकछोप गरिन्छ। यहाँ झोलेवादीहरु पनि धोखेबाजै हुन। पाएसम्म नेताको झोला बोक्ने नेतासँगै तिनपानि धोक्ने देखावटी इमान र स्वायत्तका बातहरू ठोक्ने यिनीहरू धोखेबाजै नै हुन। झोलेवाद झोला बोक्नु मात्रै हैन आफ्ना राजनीतिक गुरु मान्य पाथेदाइ वा बाहरूबाट उनीहरूकै राजनीतिक संस्कार र चेतनालाई आफ्नो व्यवहारमा चरित्र चित्रण गर्नु झोलेवाद हो।

यी अलराउन्डरको भूमिकामा रहेका धोकेबाजहरूको नैतिक सीमा कहाँ सम्म हुन्छ। देश भित्र धोखाको खेती  विदेशबाट पनि छल कपट जालझेलको बीउ आयात  त्यसमाथि छिमेकी राष्ट्रले दिने धोखा, असमान सन्धि सम्झौतामा भएको धोखा, अरबौँ खर्बौँ विदेशी ऋणमा धोखा इत्यादि धोखेबाज नेताले दिएको आम जनतालाई धोखा हो। देशमा उद्योग कलकारखाना बन्द गरी देश बनाउने  युवालाई विदेश धपाएर समृद्धिको नारा लगाइ जनताको आँखामा छारो हाल्ने काम धोखा नै हो। अतस् धोखेबाज र धोखाबाट आजित जनताले लोकतन्त्र धोका हो गणतन्त्र छल हो सङ्घीयता कपट हो भन्ने दिन नआओस्। यो व्यवस्था नै धोका साबित नहोस् यदि यो दिन आएमा पुन जनताले धोखा पाउलान् कि धोखेबाजबाट उन्मुक्ति पाउलान् यो प्रश्न लुकेकै छ  तर आम नागरिकबाट  ढिलो चाँडो यो धोखाको अन्त्य  हुने नै छ।