अन्नपूर्ण बेसक्याम्प घुम्न जान आन्तरिक तथा बाह्य  पर्यटकहरूको रोजाइमा पर्ने कास्की जिल्ला स्थित अन्नपूर्ण गाउँपालिकामा रहेको घान्द्रुक गाउँलाई ढुंगेनी गाउँ भनेर पनि चिनिन्छ । घान्द्रुकका अधिकांश घरहरू ढुङ्गा र काठको प्रयोग गरेर बनेका कारण यस गाउँलाई ढुंगेनी गाउँको उपनामले चिनिएको हो ।

यहाँका घरका छानाहरू ढुङ्गाकै प्रयोग गरेर बनाइएका छन् । गाउँको बाटोभरि झट्ट हेर्दा मार्बल जस्तो देखिने ढुङ्गाहरू बिछ्याइएको छ । घरहरू एकैनासका छन् । काठले सजिएको बलो, ढोका, झ्याल तथा ढुङ्गाले घर छाउन पनि बलियो काठको प्रयोग भएको देखिन्छ । यहाँका घरहरूको मौलिकताले नै घान्द्रुक गाउँलाई विश्वमा परिचित बनाउँदै लगेको पाइन्छ ।ghandruk gauबढ्दो आधुनिकताले घान्द्रुक गाउँलाई पनि असर पार्दै गएको देख्न सकिन्छ । एकै नाशका ढुङ्गाले बनाइएका घरहरूका बिचमा बन्ने नयाँ घर आधुनिक बन्न थालेका छन् । जसले घान्द्रुक गाउँको मौलिकता मासिँदै जाने खतरा सृजना भएको छ । पुराना घरहरू एक दशक पछि पुनः मर्मत गर्ने अवस्थामा पुगेका छन् । मर्मत पछि बन्दै जाने नयाँ संरचनाहरूमा मौलिकता हराउँदै गएको पाउन सकिन्छ । यसो हुनुमा घान्द्रुक गाउँ वरिपरिको जङ्गलमा बलियो काठ नपाउनु मुख्य कारण हो । यहाँका पाखा पखेरामा प्राय उतिसका रुखहरू मात्र पाइन्छन् । कुकाठ मात्र पाइने भएकाले काठको प्रयोग गरेर बनाइएका संरचना एक दशक नवित्तै मर्मत गर्नु पर्ने झन्झट र खर्चिलो हुँदा यहाँका बासिन्दा आधुनिकता तर्फ आकर्षित हुँदै गएका हुन्  । उतिसको काठमा किरा लागेर हैरानी खेपेका स्थानीयले बलियो काठका लागि ढुवानी खर्च महँगो हुने भएकाले धान्न नसक्ने अवस्था भएको  बताउँछन् ।

नयाँ बन्ने घरहरू आधुनिक बन्दै जाँदा गाउँको सौन्दर्यता बिग्रिँदै गएकोमा घान्द्रुक गाउँवासी चिन्तित छन् ।  गाउँको मौलिकता नै मासिने पो हो कि भन्ने चिन्ताले पुरानै शैलीमा घरहरू बनाउन चाहे पनि ढुवानी खर्च अत्यधिक महँगो भएकाले र स्थानीय जङ्गलमा भने जस्तो काठ नपाइने भएकाले आधुनिक घर बनाउन पनि स्थानीय बाध्य हुँदै गएको घान्द्रुक गाउँका होटेल व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताएका छन् ।coverकाठ मात्र नभएर ढुङ्गा ओसार्न पनि खच्चडमा निर्भर रहनु परेको छ । एक दिनमा एक पटक मात्र ढुङ्गा ओसार्न सकिने भएकाले यसरी धेरै दिन लगाएर ओसार्नु पर्ने बाध्यताका कारण वर्षौनी घर मर्मत गर्न झन् कठिन भएकाले पुरानै मौलिकतामा घर बनाउन समस्या हुँदै गएको गुरुङको भनाइ थियो ।

अहिले सम्म बाटोको अवस्था राम्रो नभएर ढुवानीको समस्या भएको बत्ताउँछन् । नेपाल सरकारले बाटोको स्तर उन्नति गरेर पिच रोड बनाउन  बजेट विनियोजन गरिसकेकाले आगामी दिनमा ढुवानीमा सहजता हुने कुरामा स्थानीय आसावादी भएको पाइन्छ । आगामी २ वर्ष भित्र बाटो बन्ने हो भने ढुवानीको सहजताले स्थानीय कला संस्कृतिलाई जोगाउन सकिने भरोसामा पनि घान्द्रुक गाउँवासी रहेको पाइन्छ ।

समुद्री सतहदेखि २०१२ मिटर उचाइमा र पोखरा देखि ५४ किलोमिटर दुरीमा रहेको घान्द्रुक गाउँलाई स्थानीय कला संस्कृतिसँगै प्रकृतिले पनि उतिकै साथ दिएको छ । यहाँबाट नजिकै देखिने अन्नपूर्ण हिमाल र माछापुच्छ्रेको मनोरम दृश्यले सबैलाई मोहित बनाएको छ । चिटिक्क परेको गुरुङको भेसभुसाले पनि पर्यटक आकर्षित हुने गरेका छन् ।jmc tour५५ वटा होटेल र २३ वटा होमस्टेले एकै दिन १४०० भन्दा बढी पर्यटकहरू धान्न सक्ने क्षमता रहेको छ । स्थानीय रहनसहन कला संस्कृति, हिमालको मनोरम दृश्य र विभिन्न रङ्गमा फुल्ने लालीगुराँसले आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । यसको मौलिकताको रक्षा मात्र गर्न सक्दा पनि आगामी दिनमा यहाँ आउने पर्यटकहरूको सङ्ख्या थप हुँदै जाने कुरालाई नकार्न सकिँदैन।