मोरङ / मोरङको गोठ गाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा तीन सय शय्याको अस्पताल बन्ने भएको छ । नेपाल सरकारको आगामी नीति तथा कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय भित्र ३०० शय्याको अस्पताल बनाउन बजेट विनियोजन हुने कोशी प्रदेश सभा सदस्य जीवन आचार्यले जानकारी दिएका हुन ।

बिहीबार विश्वविद्यालय पुगेर आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको आगामी नीति तथा कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयमा तीन सय शय्या क्षमता भएको सुविधा सम्पन्न अस्पताल निर्माण गर्न प्राथमिकता दिएको जानकारी दिएका थिए । 

चुनावको बेला पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने वाचा दिएका आचार्यले तत्काल चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सम्बोधन समेत गर्न लगाएका थिए ।

अहिले प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूले बोलेको कुरा पुरा गरेका छन् । प्रचण्ड प्रधानमन्त्री बने लगतै पूर्वाञ्चल विश्वविद्यालयले पूर्वाञ्चल मेडिकल कलेज सञ्चालन गर्ने अनुमति पाएको थियो । पूर्वाञ्चल मेडिकल कलेज सञ्चालन गर्दा कलेजसँग आफ्नै अस्पताल हुनु पर्ने मापदण्डमा तत्काल कोशी अस्पताललाई देखाएर मेडिकल कलेज सञ्चालन गर्ने अनुमति दिइएको थियो ।

सो मापदण्ड पुरा गर्न आचार्यको विशेष पहलमा अब सरकारको नीति तथा कार्यक्रममा  पूर्वाञ्चल विश्वविद्यालयको हाता भित्र तीन सय शय्याको अस्पताल निर्माण  गर्ने विषयले प्राथमिकता पाएको जानकारी दिन आचार्य बिहिबार  विश्वविद्यालय पुगेका थिए ।