सुनसरी । साबिक विजेता सगरमाथा यूथ क्लब १४ औँ संस्करणको इटहरी गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । इटहरी रङ्गशालामा शनिवार राती सम्पन्न उद्घाटन खेलमा सगरमाथाले विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

सगरमाथाको जितमा विमल घर्तीमगरले २ र विदेशी खेलाडी स्टेफिन समीर विलोङले १ गोल गरे । खेलको सुरुवाती तेस्रो मिनेटमै स्टेफिन विलोङले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ३६ औँ मिनेटमा विमल घर्तीमगरले आफ्नो पहिलो गोल गर्दै सगरमाथालाई २–० को स्थितिमा पुर्याए । विमलले उक्त गोल सुशील राईको पासमा गरेका थिए ।

दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरेको एपिएफले खेलको ६६ औँ मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको थियो । एपिएफका लागि उक्त गोल सब्सीच्युट खेलाडी अनिस महर्जनले गरेका थिए । उनी ५७ औँ मिनेटमा महेश लामाको स्थानमा मैदान प्रवेश गरेका थिए । कमजोर डिफेन्सको फाइदा उठाउँदै अनिसले कुलदिप कार्कीको पासमा हेड मार्फत आकर्षक गोल गरे ।

मच्छिन्द्र क्लबका अधिकांश खेलाडी लिएर मैदान उत्रेको सगरमाथाका लागि ८८ औँ मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे । उनले विजय भुजेलले उपलब्ध गराएको पासलाई सिधै जाली चुमाए । खेलको म्यान अफ द म्याच विमल नै घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । आइतबारको दोस्रो क्वाटर फाइनल खेल आयोजक राष्ट्रिय जागृति क्लब र कञ्चनजङ्घा फुटबल क्लब भारत बिच हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।