इटहरी / न्युरोड टिम एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । इटहरी रङ्गशालामा मङ्गलवार राती सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा झापा गोल्ड कप च्याम्पियन चर्च ब्वाइजले बुढासुब्बा गोल्ड कप विजेता एनआरटीमाथी २–१ गोलको जीत हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । चर्च ब्वाइजको जीतमा अबायोमी फकुन्ले र सुरजज्यु ठकुरीले गोल गरे । एनआरटीका अफिज ओलावालेले एक गोल फर्काए । 

खेलको ३७ औँ मिनेटमा अबायोमीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको चर्च ब्वाइजमाथी एनआरटीका ओलावालेले खेलको ८२ औँ मिनेटमा गोल फर्काए । त्यसको एक मिनेट बित्न नपाउँदै चर्च ब्वाईजका ठकुरीले गोल गर्दै आफ्नो टिमलाई २–१ को जीत दिलाए ।   मङ्गलवारको खेलको म्यान अफद म्याच चर्च ब्वाइजका सुरजज्यु ठकुरी घोषित भए । सो बापत उनलाई इटहरी उपमहानगरपालिकाका प्रेस संयोजक धनबहादुर पुरी र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले नगद १० हजार र टफी प्रदान गरे ।

बुधवार पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी र साबिक विजेता सगरमाथा फुटबल क्लब मोरङबिच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल शनिवार हुनेछ । फाइनल खेलको विजेताले नगद १० लाख रुपैयाँ हात पार्नेछ । उपबिजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनुपर्नेछ ।