इटहरी /  विभागीय टिम त्रिभुवन आर्मी क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको फाइनल प्रवेश गरेको छ । इटहरी रङ्गशालामा बुधवार राती सम्पन्न पहिलो सेमीफाइनल खेलमा साबिक विजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी सुटआउटमा २–१ गोलको जीत हात पार्दै आर्मी उपाधि नजिक पुगेको हो । निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

आर्मीको जिताउन गोलकिपर बिकेश कुथुले सगरमाथाको ३ वटा प्रहारलाई विफल तुल्याए । उनले विजय भुजेल, स्टेफन समीर बिनोङ र प्रिसोको प्रहार रोकेका थिए ।  दिवारकर चौधरीको प्रहार भने गोलमा परिणत भएको थियो । विमल घर्तीमगरको प्रहार आकासिएको थियो । आर्मीका फत्तेमान घले र रिपु भुलानले गोल गरे । नवयुग श्रेष्ठको प्रहार बारमा लागेर बाहिरिएको थियो । जीतेन्द्र कार्कीको प्रहार सगरमाथाका गोलकिपर प्रिसोले रोके । 

बुधवारको खेलको म्यान अफ द म्याच गोलकिपर कुथु घोषित हुँदै नगद १० हजार पाए । बिहीबारको अन्तिम सेमिफाइनल खेल गत वर्षको उपबिजेता चर्च ब्वाईज युनाइटेड काठमाडौँ र आयोजक राष्ट्रिय जागृति क्लबबिच प्रतिस्पर्धा हुनेछ । आयोजक पाहुना टोली कञ्चनजंगा फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो भने चर्च ब्वाइजले न्युरोड टिम एनआरटीलाई पराजित गर्दै आयोजकसँगको सेमिफाइनल भिडन्त पक्का गरेको थियो । शनिवार हुने फाइनल खेलको विजेताले नगद १० लाख रुपैयाँ हात पार्नेछ । उपबिजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनुपर्नेछ ।