इटहरी । सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । बुधबार राति सुनसरीको कोसी गाउँपालिका ८ भण्टाबारी स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको एम्बुलेन्सले नाम, थर, वतन नखुलेको, मानसिक सन्तुलन ठिक नभएकोजस्तो देखिने पुरुषलाई ठक्कर दिँदा मृत्यु भएको हो ।

हेर्दा तराइ मुलको जस्तो देखिने, बोल्न नसक्ने अन्दाजी ५० वर्षीय पुरुषलाई ठक्कर दिँदा ती पुरुष गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचारको क्रममा आज बिहानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ठक्कर दिने सवारी साधन तत्काल फरार रहेकाले पहिचानका लागि खोजतलास भइरहेको प्रहरीको भनाइ छ । एम्बुलेन्स तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।